केपी ओलीले दल विभाजन विरूद्ध दिएको रिट अन्तिम सुनुवाइमा

हेटौंडा खबर
२९ फाल्गुन २०७८, आईतवार १४:५१

सर्वोच्च अदालतले नेकपा एमाले विभाजन गरेर नेकपा समाजवादी गठन गर्ने गरी भएको निर्णय तथा एमालेले कारबाही गरेका १४ सांसदलाई समाजवादीका सांसदमा सामेल गर्ने निर्णयविरुद्ध परेका रिटमाथि अब अन्तिम सुनुवाइ हुने भएको छ।

एमाले अध्यक्ष केपी ओलीले दिएका एमाले विभाजन सम्बन्धी छुट्टाछुट्टै तीन रिटमाथि सर्वोच्च अदालतले सुनुवाइ गरिरहेको छ।एकसाथ राखेर सुनुवाइ भइरहेका यी रिटलाई आइतबार न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले पूर्ण इजलासमा पठाउने भनेको अधिवक्ता रमेश बडालले जानकारी दिए।

‘श्रीमानहरुले इजलासबाट अब समय तोकेरै अन्तिम सुनुवाइमै पठाउँ है भन्नुभयो। लिखित आदेश भने अझै आएको छैन,’ उनले भने।

अब यी रिटमा अन्तिम सुनुवाइ हुनेछ। उक्त सुनुवाइ सकिएपछि फैसला आउने छ।

एमाले अध्यक्ष ओलीले नेकपा एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दर्ता गर्ने निर्वाचन आयोग, १४ जना सांसदलाई पार्टीले कारबाही गरेपछि सांसद पद निलम्बन गर्नुपर्नेमा समाजवादीका सांसद कायम गरिदिएको भन्दै सभामुख अग्नि सापकोटा र पार्टीले कारबाही सिफारिस गरेका दुई लुम्बिनी प्रदेश सांसदलाई  प्रदेश सभामुखले निलम्बन नगरेको भन्दै रिट दिएका थिए ।एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुखलाई दिएको थियो। तर सभामुख अग्नि सापकोटाले एमाले सांसदका रूपमा प्रतिनिधिसभामा १२१ सांसद र राष्ट्रिय सभामा ३३ सांसद रहेको जानकारी निर्वाचन आयोगलाई पठाएका थिए।

सभामुखले १५ दिनभित्र सूचना टाँस्नुपर्ने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐनमा छ। तर सभामुख सापकोटाले १३ औं दिनमा माधव नेपालसहितका १४ सांसदले नयाँ दल दर्ता गरिसकेको अवस्थामा कारबाही गरिरहनु नपर्ने निर्णय गरेका थिए।

नेकपा एमालेबाट विभाजन भएर माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*