एमालेका अरु सांसदले नाराबाजीमा हात उठाउँदा भीम रावल भने बोल्नका लागि उठाउँछन्

हेटौंडा खबर
२९ फाल्गुन २०७८, आईतवार १५:२४

प्रमुख प्रतिपक्षी. दल नेकपा (एमाले) संसद्को चालु अधिवेशनको पहिलो दिनदेखि नै संसद्मा अवरोध गरिरहेको छ। सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरु आफ्नो सिटबाट उठेर दौडिँदै बेल घेराउ गर्न पुग्छन् र नाराबाजी सुरु गर्छन्।

सभामुख केहीबेर त्यो दृष्य अवलोकन गर्छन् अनि नाराबाजी रोकेर बैठकको कारबाही अघि बढाउन दिनका लागि अनुरोध गर्छन्। त्यो अनुरोधले अहिलेसम्म काम गरेको छैन। अर्थात् नाराबाजी चलिरहन्छ। नाराबाजीकै बीच सभामुख बैठक अघि बढाउँछन्। नाराबाजीकै बीच एमसीसी पास भयो। अरु महत्वपूर्ण विधेयक पनि अघि बढेका छन्।

एमालेले गत साउन २५ गतेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधवकुमार नेपालसहित १४ जना सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो। उक्त पत्र सभामुखले टाँस नगरेपछि नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिइसकेपछि मात्र संसद् सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने सूचना टाँसेको थियो।

कानुनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले उनीहरुलाई सांसदको रूपमा संसद्मा प्रवेश दिएको विरोधमा सदन अवरोध गरिरहेको छ।

एमालेले संसद्मा अवरोध गरे पनि सोही पार्टीका एक सांसद भने बैठकमा भाग लिइरहेका छन्। उनी हुन् भीम रावल। बैठकमा उनी सभामुखसँग समय लिएरै आफ्नो धारणा राख्छन्। अरु सांसदले नाराबाजीका गर्दै हात उठाउँदा उनी भने सभामुखसँग समय माग्दै हात उठाउँछन्। आजको बैठकमा पनि रावल सुरुमै हात उठाएर बोले। सभामुखले ५ मिनेटको समय दिएपछि रावलले महाकाली पारी नेपाली भूमिमा भारतीय पक्षले डोजर लगाएको विषयमा सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘महाकाली पारी नेपाली भूमिलाई समस्यामा पार्नेगरी भारतले डोजर लगाएको छ। यसमा गृहमन्त्री र परराष्ट्रमन्त्रीले संसदमार्फत जनतालाई जानकारी गराउनुपर्छ। राष्ट्रियताको विषयमा सरकार गम्भीर हुन नसक्दा हामीलाई हाम्रो सरकारप्रति लज्जाबोध भइरहेको छ।’ उनले एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधानहरु संशोधन नगरी पारित गरिएको भन्दै नेपालको स्वतन्त्र परराष्ट्र नीतिमाथि प्रश्न उठेको आरोप पनि लगाए। उनले आफूले उठान गरेका विषयहरुमा संसदमा आएर जवाफ दिन सरकारलाई निर्देशन दिन सभामुखसँग मागसमेत गरेका छन्।

यसअघि एमसीसीमाथिको छलफलमा पनि एमालेबाट उनी एक्लैले भाग लिएका थिए। त्यसक्रममा उनले रोष्ट्रममै गएर आफ्नो धारणा राखेका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*