पेट्रोलियम पदार्थको मूल्यअनुसार सवारी भाडा स्वचालित बनाउन व्यवसायीको माग

हेटौंडा खबर
२९ फाल्गुन २०७८, आईतवार १६:१९

यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यअनुसार स्वचालित भाडादर लागु गर्नुपर्ने माग गरेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पेट्रोलियम पदार्थको मूल्य बढ्दा सार्वजनिक यातायातको भाडा पनि स्वत: बढ्ने र घट्दा स्वत: घट्ने स्वचालित प्रणाली लागु गर्न माग गरेको हो ।

महासंघका महासचिव भरत नेपालले वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयसँग स्वचालित भाडाबारे छलफल भइरहेको जानकारी दिए ।

‘सार्वजनिक सवारीको भाडादर समायोजनबारे मन्त्रालयसँग छलफल भइरहेको छ । एयरलायन्स लयातका क्षेत्रहरूले स्वचालित रूपमा आफैँ भाडा बढाउँछन् । सार्वजनिक यातायातमा पनि स्वचालित रूपमा बढ्नुपर्ने माग अघि बढाएका छौँ । पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा पटक–पटक भाडा बढाउन माग राख्नु पर्दैन,” महासचिव नेपालले भने ।

स्वचालित प्रणाली लागु गर्ने कि पेट्रोलियम पदार्थको मूल्यअनुसार भाडा घटबढ गर्ने भन्ने विकल्पमा छलफल भइरहेको नेपालले बताए ।

‘‘सरकारलाई हाम्रो दबाब स्वचालित भाडादर नै हो । छलफल पछि मन्त्रालयबाट केही निर्णय आउला,” उनले भने ।

सरकारले मागअनुसार भाडा नबढाए महासंघले चैत १ गतेदेखि आन्दोलन गर्ने दिँदै आएको छ ।

पछिल्लोपटक सरकारले गएको कात्तिक १ गतेदेखि लागु हुनेगरी भाडा बढाएको थियो । हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ छ भने डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*