नागरिकलाई स्वस्थ राख्छु भन्ने जनप्रतिनिधि आउनुपर्छ : महामन्त्री थापा

हेटौंडा खबर
१ चैत्र २०७८, मंगलवार १५:१८

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकको संवैधानिक स्वास्थ्यको हक प्राप्तिका लागि सरकारले थप चासो दिनुपर्ने बताएका छन् । उनले संविधानमा उल्लेख भएको नागरिकको स्वास्थ्य हकलाई स्थापित गर्न आवश्यक रहेको बताए ।मंगलबार काठमाडौंको ज्ञानेश्वरमा सहरी स्वास्थ्य केन्द्र उद्घाटन गर्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका महामन्त्री थापाले ‘अब मेरो नागरिकलाई स्वस्थ राख्छु’ भन्ने जनप्रतिनिधिले चुनाव जितेर आउनुपर्ने बताए ।

‘हामी स्थानीय तहको चुनावको सम्मुखमा छौं, चुनावमा उम्मेदवारले जसरी बाटो बनाउँछु भनेर भोट माग्छन्, अब मेरो नागरिकलाई स्वस्थ राख्नका लागि काम गर्छु भन्ने एजेन्डा पनि लिएर उम्मेदवारहरू आउनुपर्छ, यो पनि एउटा महत्वपुर्ण एजेन्डा हो,’ उनले भने ।

उनले स्वास्थ्यको हक संविधानमा प्रष्ट लेखिए पनि सामान्य नागरिकले त्यस्तो अधिकार पाउन नसकेको बताए । ‘संविधानमा स्वास्थ्यको हक मौलिक हक हो । तर, यहाँ सामान्य रगत परीक्षण मात्रै गर्न चाहने हो भने पनि त्यसको पहुँच छैन, स्थानीय तहले त्यस्ता स्वास्थ्य संस्थाको व्यवस्थापन गर्न सकेनन्,’ उनले भने ।

महामन्त्री थापाले वडा तहसम्म पनि बलियो स्वास्थ्य पूर्वाधार विकास हुनुपर्ने र तबमात्रै सबै नेपालीको स्वास्थ्य राम्रो हुन सक्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*