पलविरुद्धका अधिकांश प्रमाण बलात्कार प्रमाणित गर्ने प्रकृतिका ! मुद्दा बुझाउने तयारी

हेटौंडा खबर
६ चैत्र २०७८, आईतवार १५:२३

बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार एक–दुई दिनमै पलविरुद्धको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत तनहुँमा बुझाउने तयारी छ । जबरजस्ती करणी (बलात्कार) मुद्दामा बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

पलविरुद्ध तीनपटक म्याद थपिएको छ । पहिलोपटक सात दिन, दोस्रोपटक १२ दिन र तेस्रोपटक पाँच दिनको म्याद थपिएको छ ।

पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा एक १७ वर्षीया गायिकाले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन् ।

प्रहरी अनुसन्धानका क्रममा पलमाथिको आरोप प्रमाणित हुने प्रमाण जुटाएको प्रहरीको दाबी छ । प्रहरीले पलले किशोरीसँग गरेको कल रेकर्ड, म्यासेजलाई पनि प्रमाणका रूपमा लिइएको छ । यस्तै, पीडितले उजुरीमा लगाएको आरोपलाई विभिन्न कोणबाट पुष्टि गर्ने काम गरिएको छ । घटनामा नाम जोडिएका अरू व्यक्तिसँग पनि प्रहरीले सोधपुछ गरेको छ ।

यसअघि, पलविरुद्ध गएको बिहीबार नवलपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा दायर भइसकेको छ । पलले ०७७ चैत ७ गते गैँडाकोटस्थित एक रिसोर्टमा सुटिङका लागि गएको बेला बलात्कार गरेको भन्दै जाहेरी दिइएको थियो । सोही जाहेरीपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

पलले भने गैँडाकोटमा आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले आफूमाथि लगाइएको आरोप झुटो भएको दाबी गरेका छन् ।

गैँडाकोटमा रहेको रिसोर्टमा पल १०१ नम्बरको कोठामा बसेको र पीडित किशोरी १०२ नम्बर कोठामा बसेको बताइएको छ । सोही रात पल किशोरीको कोठामा गएर जबरजस्ती करणी गरेको आरोप छ ।

प्रहरी अनुसन्धानका क्रममा सुटिङ युनिट रिसोर्टमा बसेको पुष्टि भइसकेको छ ।  पीडित किशोरीले राति ११ बजे आफू बसेको कोठामा आएर पलले बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।

गैँडाकोटमा पलको बयान भए पनि उनमाथि म्याद थपलगायत प्रक्रिया तनहुँबाट अगाडि बढेको हो । एकै प्रकृतिको घटना भएकाले एकै कार्यालयबाट मात्रै प्रक्रिया अगाडि बढाउन पाइने भएकाले तनहुँबाट म्याद थपलगायत प्रक्रिया गरिएको हो ।

पल प्रकरणमा नेपाली कलाकारका अभिव्यक्ति समेत विवादमा पर्दै आएका छन् । पछिल्लो समय पल प्रकरणमा अनावश्यक भ्रम फैलाउने काम गरेको भन्दै प्रहरी युट्युबरविरुद्ध समेत आक्रमक बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*