नेप्सेमा दोहोरो अंकको गिरावट

हेटौंडा खबर
६ चैत्र २०७८, आईतवार १५:३६

सेयर बजार परिसूचक नेप्सेमा लगातार तेस्रो कारोबार दिन पनि दोहोरो अंकको गिरावट भएको छ । आइतबार बजार परिसूचक नेप्से १४.६७ अंक (०.५६ प्रतिशत)ले गिरावट भएर २६१६.५८ अंकमा बन्द भएको छ ।

गएको आइतबार १०० अंकभन्दा माथिले वृद्धि भएको नेप्से सोमबार ब्रोकर डाटा सेन्टरमा समस्यापछि दुई घण्टा पनि कारोबार नभई बन्द भएको थियो । मंगलबार र बुधबार दोहोरो अंकको गिरावट भएको नेप्सेमा बिहीबार कारोबार बन्द भयो । आज पनि घटेर बन्द भएको छ ।

नेप्सेसँगै लगानीबाहेक सबै उपसूचकमा गिरावट भएको छ । बजार परिसूचकसँगै नेप्सेमा कारोबार रकम पनि घटेको छ ।

आइतबार दिनभरमा बजारमा कुल दुई अर्ब २७ करोडको सेयर कारोबार भएको छ । गएको आइतबार पाँच अर्बनजिक रहेको कारोबार रकम मंगलबार तीन अर्बमाथि र बुधबार साढे दुई अर्ब नाघेको थियो ।

आज बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक १६ करोडको सेयर कारोबार हुँदा जीवा विकास लघुवित्तको १३ करोड र नेपाल दूरसञ्चार कम्पनीको करिब ९ करोडको सेयर कारोबार भएको छ ।

आज दिनभर बजारमा कुल १९३ कम्पनीको सेयर कारोबारमा आएकामा १६३ कम्पनीको सेयर मूल्य गिरावट भएको छ । २४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा पाँच कम्पनीको स्थिर छ ।

आज कारोबार भएका मध्ये राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ४.८९ प्रतिशतले बढेको छ ।

यस्तै, मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ३.७६ प्रतिशतले गिरावट हुँदा शिवश्री हाइड्रोपावरको ३.३१ प्रतिशत र प्रभु लाइफको सेयर मूल्य  २.२९ प्रतिशतले गिरावट भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*