प्रतिनिधि सभा नभएकाे बेला राष्ट्रिय सभालाई चलाउने व्यवस्था गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

हेटौंडा खबर
६ चैत्र २०७८, आईतवार १६:२६

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभालाई भूमिकासहित चलाउने व्यवस्था गरिनुपर्ने बताएका छन्।

अध्यक्ष तिमिल्सिनाले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै प्रतिनिधि सभा नभएको अवस्थामा पनि राष्ट्रिय सभालाई सञ्चालन गर्न व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

उनले विगतमा प्रतिनिधि सभा नहुँदा संसद बाहिरबाटै बजेट ल्याइएको उल्लेख गर्दै राष्ट्रिय सभा भएको बेलामा राष्ट्रिय सभाबाट पनि बजेट पारित गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।

प्रतिनिधि सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा आएका विधेयकहरूको साठी दिनभित्र निर्णय गरेर पठाउनुपर्ने व्यवस्था भए पनि प्रतिनिधि सभामा भने सो व्यवस्था नभएकाले २०७५ सालदेखिको विधेयकहरू प्रतिनिधि सभामा थन्किएको अध्यक्ष तिमिल्सिनाकाे भनाइ छ । यसले गर्दा कानुन निर्माण हुन नसकेको उनले बताए ।

उनले यो प्रतिनिधि सभा विघटन भएर चुनावतिर गएको अवस्थामा राष्ट्रिय सभाले मेहनत साथ पारित गरेर पठाएका विधेयक शून्य अवस्थामा पुग्ने भएकाले आगामी दिनमा यस्ता विषयमा ध्यान दिएर दुवै सदनलाई प्रभावकारी बनाउनुपर्नेमा जाेड दिए ।

अध्यक्ष तिमिल्सिनाले भने, ‘कतिपय विषयहरू अलग ढंगले दुईवटा सदनको फरक प्रकृति र त्यही अनुहार काम हुने स्वाभाविक हो । प्रतिनिधि सभा र राष्ट्रिय सभा आपसमा एकै सिक्काको दुई पाटा भनौं । २०७५ सालबाट पठाएका विधेयकहरू पनि हामीले फिर्ता पाउन सकेका छैनौं हामीले । पास गरेर त्यहाँ पठाएका दर्जनभन्दा बढी विधेयक शून्यमा जान्छन् । फेरि ती उठान गरेर नयाँ प्रक्रिया त्यही जाँदाखेरी यसको के प्रभाव पर्छ त ? समग्रमा फेरि यो संविधान संशोधनसँग जोडिएका विषय छन् । आगामी दिनमा दुवै सदनलाई प्रभावकारी बनाउनमा हामीले जाेड दिनुपर्छ ।’

उनले विधेयकको आवश्यकता र महत्वलाई हेरेर छिटोभन्दा छिटो पारित गर्नुपर्नेमा जोड दिए ।

‘विधेयक सबै महत्वपूर्ण नै हुन्छन् हुनलाई । तर, त्यसको कति छिटो आवश्यकता छ ? के को लागि हो ? त्यसको आधारमा महत्व कम, धेरै तुलनात्मक रूपमा हुन सक्छ । यसकारणले त्यो कुरालाई हेर्नुपर्छ । अब ऐनमा परिमार्जन गर्नुपर्ने छ भने ऐन परिमार्जन गर्ने बेलामा हामी यी कुराहरू उठाउँछौं ।  र, कुनै पनि उपयुक्त समयमा यी विषयको उठान पनि हुनेछ र सम्बोधन पनि हुनेछ’, अध्यक्ष तिमिल्सिनाले भने।

यसमा तपाइको मत

Your email address will not be published.


*