हातमा हात मिलाएर सँगसँगै चुनावमा जान चाहन्छौँ : अध्यक्ष नेपाल

हेटौंडा खबर
६ चैत्र २०७८, आईतवार १६:५०

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहकार्य गर्न चाहनेहरूसँग मिलेर नै निर्वाचनमा जाने बताएका छन् ।आइतबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कतिपय जिल्लाहरूमा एक्लै पनि शक्ति बन्दै गइरहेको सुनाए ।

“विभिन्न जिल्लाले भन्दै छ, हामी एक्लै पनि बलियो हुँदै गइरहेका छौँ । तर, कतिपय अरू पार्टीहरूले हामी पनि सहकार्य गर्न चाहन्छौँ भनेका छन्,” उनले भने “सहकार्य गर्न चाहनेहरूलाई स्वागत गर्न चाहन्छौँ । हामी हातमा हात मिलाएर सँगसँगै चुनावमा जान चाहन्छौँ ।”

उनले स्थानीय तह निर्वाचबाट पार्टी बलियो शक्तिका रूपमा अघि बढ्न चाहेको पनि बताए ।

पाँचदलीय गठबन्धन तोड्न जालझेल भए पनि त्यसलाई तोडिएको उनको भनाइ छ । “मोर्चा टुटाउन अनेक किसिमका जालझेल, षड्यन्त्र गरिए । हामीले त्यो तोडेका छौँ,” उनले भने ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केहीलाई पार्टी प्रवेश गराए पनि धरातलमा उनीप्रति वितृष्णा पैदा भएको र भ्रम टुटिरहेको नेता नेपालको भनाइ छ ।

एमालेबाट आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको संख्या बढिरहेको पनि उनले बताए । पैसा र दम्भ देखाउने शक्तिलाई निर्वाचनबाट पराजित गर्नुपर्नेमा उनले जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*