गठबन्धनबारे प्रचण्ड : निर्वाचनमा अरुको भर नपरौँ, त्यो भ्रम मात्रै हो

हेटौंडा खबर
६ चैत्र २०७८, आईतवार १६:५६

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन आफ्नै शक्तिमा जित्नुपर्ने दोहोर्‍याएका छन्। पार्टीको गण्डकी प्रदेश पार्टी प्रशिक्षणका क्रममा आइतवार पोखरामा कार्यकर्ताहरुलाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले यसो भनेका हुन्।

उनले पार्टी पटक पटक विभाजित हुँदै यहाँसम्म आइपुगेको पनि बताए। ‘माइतीघर मण्डलमा पलेँटी कस्दा कतिले सकियो प्रचण्ड भनेका थिए। तर त्यो एकपछि अर्को थपिदै जाँदा विशाल आन्दोलन बन्न पुगेर केपी ओलीको प्रतिगमन परास्त भयो’, उनले भने, ‘एउटा ट्रेलर गत पुसपछि देखियो।’

उनले माओवादी कयौँ पटक बिग्रिएको बताउँदै यसलाई क्रान्तिकारीमा रुपान्तरण गर्न सकिने पनि उल्लेख गरेका छन्। ‘यो पार्टी क्रान्तिकारी पार्टीकै रुपमा रुपान्तरण गर्ने वा त्यतिकै छोडिदिने? दोधारको अवस्था पनि आयो। तर पार्टी बनाउन सम्भव छ भन्ने प्रतिगमनविरुद्धको आन्दोलनले देखायो’, उनले भने, ‘फलाम तातेको बेला हान्नुपर्छ, यही हो बेला भनेर हामी पार्टी निमार्णतिर लागेका हौं।’

प्रचण्डले केपी शर्मा ओलीलाई रुपान्तरण गर्न सकिएला भनेर एकता गरेको पनि बताए। ‘ओलीलाई बदल्न सकिन्छ भनेर एकता गरेका थियौँ’, उनलेभने, ‘तर त्यो सकिएन। प्रतिगमन विरोधी आन्दोलन हामीले नै नेतृत्व गरेर ल्यायौँ। त्यो अरु कसैले गरेर हुँदैनथ्यो।’

दाहालले एक सतायता दोहोर्‍याइरहेको कुरा पोखरामा पनि स्मरण गरेका छन्। पाँच दलीय गठबन्धनसँग मोहभंग हुँदै आएको संकेत उनले पोखरामा पनि गरे। ‘निर्वाचनमा अरुको भर नपरौं। आफनै शक्ति र ताकतमा भर परौँ’, उनले भने, ‘अरुको भर भनेको भ्रम मात्रै हो।’

यसमा तपाइको मत

Your email address will not be published.


*