विप्लव नेतृत्वको नेकपा बैठकमा उठ्यो कार्यकारी राष्ट्रपतिको विषय

हेटौंडा खबर
७ चैत्र २०७८, सोमबार १३:४०

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासनमा जानुपर्ने मत उठेको छ।

गत शुक्रबारदेखि कपिलबस्तुको शिवगढिमा जारी केन्द्रीय समिति बैठकमा नेताहरुले धारणा राख्नेक्रममा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीमध्ये एक व्यवस्थामा जाने मत राखेका हुन्।पार्टी बैठकमा महासचिव चन्दले स्थानीय तह निर्वाचनमा सहभागी हुने विषय उल्लेख गरेपछि धमेन्द्र बास्तोला, हेमन्तप्रकाश ओलीलगायत नेताहरुले जनताबाट प्रत्यक्ष निर्वाचित व्यवस्थामा जान सुझाएको एक नेताले बताए।

‘महासचिवको प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा जाने विषय उल्लेख भए पनि धमेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले जनताबाट प्रत्यक्ष निर्वाचित व्यवस्थामा जाने माहोल बनाउँ भन्ने प्रस्ताव गर्नुभएको छ,’ ती नेताले भने, ‘बैठकमा १९ जना केन्द्रीय सदस्यले मात्रै धारणा राखेकाले अझै बैठक सकिन केही दिन लाग्ने भएकाले कुनै निर्णय भएको छैन।’ चन्दले निर्वाचनका सम्बन्धमा राखेको प्रस्तावमा सबैले समर्थन जनाए पनि संशोधन गरेर स्थानीय तहको निर्वाचन पर थकेल्न आग्रह गरेका छन्। पार्टी बैठकमा पार्टी विभाजन गर्ने अवस्थामा नभई अजेण्डाको पक्ष÷विपक्षमा बहस भइरहेको ती नेताले बताए।

यसअघि माओवादीले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्था हुनुपर्ने वकालत गरे पनि हुन सकेन। पुनः विप्लव नेतृत्वको नेकपामा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्था हुनु पर्ने विषय आएको हो।

उनीहरुले उठाउँदै आएको संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने विषय जनमत संग्रह गर्नुपर्ने विषय उठाए पनि त्यो विषय त्यसैबीचमै सेलाएको छ।
बैठकमा बोल्ने अधिकाश नेताहरुले माओवादी केन्द्रसंगै चुनावी तालमेल गरेर जाने सुझाव दिएका छन्। त्यसो भएमा माओवादी केन्द्र,एकीकृत समाजवादी,जनता समाजवादी पार्टी लगायत दलसंग चुनावी तालमेल हुने सम्भावना बढेको छ। चुनावी तालमेलसंगै मुद्धा मिल्दै गएमा दीर्घकालिनसम्म पार्टी एकता गर्ने तायरी गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*