दुई मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड उड्यो नेपाली फुटबल टोली

हेटौंडा खबर
७ चैत्र २०७८, सोमबार १४:२९

दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्ड प्रस्थान गरेको छ। नेपाली राष्ट्रिय टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न जाने फुटबल टोलीलाई आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा विदाइ गरेको थियो।एएफसी एसियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले चैत दोस्रो साता थाइल्याण्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसँग खेल्दैछ।

थाइल्याण्डको राष्ट्रिय टोली र एक क्लबसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीले बुधबारदेखि बन्द प्रशिक्षणमा सुरू गरेको थियो।१० चैतमा थाइल्याण्डको राष्ट्रिय फुटबल टोली र १३ चैतमा चोनबुरी एफसीसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए।

सोही अनुसार खेलाडीले बन्द प्रशिक्षणमा रहेर अभ्यास सुरू गरेका थिए। तर, वैदेशिक क्लबहरूमा अनुबन्ध भएर खेलिरहेका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ, डिफेन्सिङ मिडफिल्डर रोहित चन्द र फरवार्ड जगजित श्रेष्ठ भने राष्ट्र टोलीको बन्द प्रशिक्षणमा उपस्थित भएनन्।उनीहरू थाइल्याण्डसँगको भ्रमणमा भने सहभागी हुने एन्फाले जनाएको छ। यता, एएफसी कप छनोटको तयारी गरिरहेका कारण मच्छिन्द्रका खेलाडीलाई पनि मैत्रीपूर्ण खेलका लागि उपस्थित हुने छैनन्।

शहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टारविरुद्ध ५ अप्रिलमा प्रतिस्पर्धा गर्दैछ।मछिन्द्रले ब्लुस्टारविरुद्धको खेलमा जित निकाले १२ अप्रिलमा भारतको मोहन बगानविरुद्ध खेल्ने तालिका छ। समूह चरणमा स्थान बनाउन मच्छिन्द्रलाई मोहन बगानविरुद्धको खेल पनि जित्नुपर्ने हुन्छ।

नेपाल राष्ट्रिय टोलीले चीनमा सन् २०२३ मा आयोजना हुने एएफसी एसियन कपको तेस्रो चरणको छनोटको तयारीका लागि थाइल्यान्ड भ्रमण गर्न लागेको हो।छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ। यही समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया जस्ता बलिया टोली रहेका छन्। यो समूहका खेलहरू ८ जुनदेखि १४ जुनसम्म कुवेतमा हुनेछ।

नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै, नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।थाइल्याण्ड भने समूह ‘सी’ मा छ। यो समूहमा उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका पनि छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*