अर्थतन्त्र सुधार्न ‘उच्चस्तरीय समिति’ गठन गर्दै सरकार

हेटौंडा खबर
७ चैत्र २०७८, सोमबार १४:५६

अर्थतन्त्रको बिग्रँदो स्थितिलाई सुधार गर्न एक ‘उच्चस्तरीय समिति’ गठन गर्ने तयारीमा सरकार जुटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै उच्चस्तरीय समिति गठन गरेर बिग्रँदो अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने बताएका हुन् ।

विगत ८ महिनादेखि प्रधानमन्त्री देउवा आफैंले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिरहेका छन् । सोहीक्रममा आइतबार डाकिएको उद्योग मन्त्रालय मातहत रहेको ‘बोर्ड अफ ट्रेड’ को बैठकमा उद्योगीहरुसँग छलफल गर्दै प्रधानमन्त्री देउवाले नै उच्चस्तरीय समिति गठन गरेर चुलिँदो आर्थिक संकट समाधान गर्नुपर्ने धारणा राखेका हुन् ।प्रत्येक तीन–तीन महिनामा बस्नुपर्ने बैठक प्रधानमन्त्री देउवा नेतृत्वको सरकार गठन भएयता बस्न सकेको थिएन ।

प्रधानमन्त्री देउवाले बोर्डको पहिलो बैठक बोलाएर उद्योगीसँग छलफल गर्दै वर्तमान आर्थिक स्थितिको बारेमा चासो समेत राखेका छन् । सोहीक्रममा उद्योगीहरुको ‘बिफ्रिङ’ सुनेपछि प्रधानमन्त्री देउवाले उच्चस्तरीय कमिटी गठन गरेर अगाडि बढ्नुपर्ने बताएको सहभागी उद्योगीहरूले बताएका छन् ।बोर्डको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससहित विभिन्न विभागीय मन्त्रालय सचिवको उपस्थिति थियो ।

छलफलमा सहभागी चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले वर्तमान आर्थिक स्थितिबारे छलफल भएको बताए । उनले प्रधानमन्त्रीसहितको टोलीले आर्थिक स्थितिको विषयमा जानकारी लिएर यसको सुधारको विषयमा छलफल गरेको समेत बताए ।

‘बढ्दो वैदेशिक व्यापार घाटा, वर्तमान आर्थिक स्थिति, आयात नियन्त्रण तथा तरलता अभावको विषयमा छलफल भयो,’ मल्लले रातोपाटीसँग भने, ‘देशको वर्तमान आर्थिक स्थितिप्रति प्रधानमन्त्री ज्यू चिन्तित हुनुहुन्छ । अब उच्चस्तरीय समिति गठन गरेर थप छलफल गर्ने उहाँको योजना छ । यसमा हामीसँग साथ खोज्नु भएको छ ।

’त्यस्तै छलफलमा सहभागी परिसंघका अध्यक्ष विष्णु अग्रवालले प्रधानमन्त्री देउवासँग अर्थतन्त्रको वर्तमान स्थितिबारे गहन छलफल भएको बताए । उनले नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस), ब्याजदर वृद्धि, लगानीयोग्य पूँजीको अभाव, वैदेशिक व्यापार घाटा तथा अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नती हुने विषयमा समेत छलफल भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*