अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको सक्रियता

हेटौंडा खबर
७ चैत्र २०७८, सोमबार १६:१७

घट्दो विदेशी मुद्रा संचिती, बढ्दो आयात, घट्दो रेमिट्यान्स, अनियन्त्रित मुद्रास्फिती, लगानीयोग्य पूँजी अभाव र बढ्दो ब्याजदरका कारण आर्थिक अवस्था थप नाजुक बन्दै गइरहेको छ । यो अवस्थालाई थप नाजुक हुन नदिन नेपाल राष्ट्र बैंकले विभिन्न प्रयास गरे पनि सकारात्मक परिणाम आइसकेको छैन ।

ऋण नपाउने, पाए पनि महङ्गो ब्याजका कारण लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन् । सरकारले पूँजीगत खर्च बढाउन सकिरहेको छ । जसका कारण बजारमा तरलता समस्या चर्किएको छ । अर्थमन्त्री जनार्दन शर्मा अर्थतन्त्र गाह्रो अवस्थामा पुगिनसकेको र त्यस्तो अवस्था नआउने दाबी गर्दै आएका छन् । तर, निजी क्षेत्र भने हालसम्मकै कठिन अवस्था व्यहोरिरहेको बताउँछ ।

अर्थतन्त्र ‘कोमा’मा जान लागिसकेको भन्दै निजी क्षेत्रसहित अर्थविद्हरु चिन्तित देखिन्छन् । विग्रँदो अर्थतन्त्र सुधारका लागि सरकारले प्रभावकारी कमद चाल्न नसकेको भन्दै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अलि सक्रिय भएका छन् । आफूसँगै उनले आफ्नो पार्टी नेपाली कांग्रेसलाई पनि सक्रिय बनाएका छन् ।

प्रधानमन्त्रीको सक्रियतापछि उनले दुई पटक निजी क्षेत्रसँग परामर्श गरेका छन् । त्यस्तै पार्टीका महामन्त्री गगन थापालाई पनि सरोकारवालाहरुसँगको छलफलमा खटाएका छन् । सोही सक्रियता अनुरुप उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री देउवाले टे«ड बोर्डको बैठक राखेर निजी क्षेत्रसँग छलफल गरे । प्रत्येक तीन÷तीन महिनामा बस्नुपर्ने यो बैठक देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक आइतबार बसेको हो ।

ट्रेड बोर्डको बैठकमा उनले वैदेशिक व्यापार र अर्थतन्त्र सुधारका विषयमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरे । उनले अर्थतन्त्र कसरी सुधार्न सकिन्छ, त्यसको ठोस सुझाव निजी क्षेत्रसँग लिइरहेका छन् । उक्त बैठकमार्फत प्रधानमन्त्री देउवाले व्यापारमा देखिएका समस्या र निर्यात बढाउन गर्नुपर्ने उपायबारे गम्भिर रुपमा छलफल गरेका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए । “बढ्दो व्यापार घाटा, निर्यात बढाउन चालिनुपर्ने कदमलगायत विषयमा प्रधानमन्त्रीज्यूले गम्भिर चासोका साथ सुझाव लिनुभएको छ । व्यापार घाटा न्युनीकरणका उपायबारे निजी क्षेत्रले प्रधानमन्त्रीलाई अवगत गराएको छ” मल्लले भने ।

प्रधानमन्त्रीलाई ब्यापारमा रहेका समस्याबारे अवगत गराएको उनले बताए । उनले बढ्दो इन्धन आयात एवं खाद्यान्न आयातमा अर्बौं रुपैयाँ बाहिरिरहेको भन्दै आन्तरिक उत्पादन बढाउन र स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्ने सुझाव दिएको बताए ।

बैठकमा प्रधानमन्त्री देउवाले व्यापारघाटा कम गर्ने विषयमा निजी क्षेत्रको समेत सहभागितामा एक उच्चस्तरीय समिति बनाएर काम गर्नुपर्ने बताएका थिए । सरकार र निजी क्षेत्रको समेत सहभागितामा बन्ने उच्चस्तरीय समितिले बढ्दो व्यापार घाटा कम गर्ने र निर्यात बढाउने उपायको खोजी गर्ने बताइएको छ । निर्यात बढाउन सरकारले चाल्नुपर्ने कदमप्रति देउवा सकारात्मक रहेको मल्लले बताए । “निर्यात बढाउन के गर्नुपर्छ गरौं,” भन्नेमा प्रधानमन्त्री हुनुहुन्छ उनले भने ।

उक्त बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाललगायत सरकारी अधिकारीहरु थिए ।

प्रधानमन्त्री देउवाले यसअघि अर्थतन्त्रसँग केन्द्रित रहेर अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई राखेर छलफल गरेका थिए । उक्त छलफलपछि उनले निजी क्षेत्रसँग पनि छलफल गरेका थिए ।

यस्तै प्रधानमन्त्रीले आफ्ना पार्टी महामन्त्री गगन थापालाई पनि अर्थतन्त्र सुधार्न चालिनुपर्ने कदमका विषयमा छलफल गर्न लगाएका छन् । सोही निर्देशन अनुसार थापाले निजी क्षेत्रसँग एक चरणमा छलफल गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*