एनआरएनएमा तीन अध्यक्ष, महाधिवेशन मार्च २४ र २५ मा हुने

हेटौंडा खबर
८ चैत्र २०७८, मंगलवार १३:४८

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा तीन अध्यक्ष बनाउने सहमति भएको छ ।  अध्यक्षका तीन आकंक्षीले सामूहिक नेतृत्वमा जाने सहमति गरेको जनाएका छन् । गैरआवासीय नेपाली संघको सचिवालयमा संयुक्त सम्मेलन गरी सामूहिक नेतृत्वमा जान तयार भएको बताएका हुन् ।

संघको एकता नै अक्षुण राख्न तीन अध्यक्ष मोडेलमा जान तयार भएको बताइएको छ । सहमतिको आधारमा दशौं महाधिवेशन गर्नुको विकल्प नभएको भन्दै तीन अध्यक्ष बन्नेगरी सहमति भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

संघको गरिमामय, प्रभावकारी, कार्यमुलक र सेवामुखी बनाउनका लागि सबै पक्षलाई सहयोग गर्न प्रतिवद्धता जायर गरिएको छ । एनआरएनएमा अब अध्यक्षमा डा. बद्री केसी, कुल आचार्य र रबिना थापा अध्यक्ष हुनेछन् । एनआरएनको महाधिवेशन मार्च २४ र २५ मा हुँदैछ ।

अध्यक्ष कुमार पन्तले विधान अनुसार महाधिवेशन हुने र महाधिवेशनले विधान संशोधन गरी बहुपदीय नेतृत्वमा जाने तय भएको बताए । सोमबार राती भएको सहमतिअनुसार महासचिव, सचिव, उपाध्यक्ष लगायतका प्रमुख पद थप्ने तयारी भएको छ । पारित गराउने हिम्मत उम्मेदवारहरुले नै लिनुपर्ने पन्तले बताए ।

‘बहुपदको व्यवस्था विधान छैन, पारित गराउने हिम्मत उम्मेदवारहरुले नै लिनुपर्छ,’ उनले भने ।  अध्यक्षका उम्मेदवार केसीले विषम परिस्थितिका कारण सामूहिक नेतृत्वमा जान तयार रहेको बताए । अदालतमा रहेका मुद्धा फिर्ता लिनेगरी सहमति भएको बताए । सबैको अस्तित्व स्वीकार गरेर अघि बढ्नेगरी बहुपदमा जान तयार भएको उनले बताए ।

अर्का अध्यक्ष उम्मेदवार कुल आचार्यले अब पक्ष, विपक्ष नभनीकन विधान संशोधन गरी सामूहिक नेतृत्वमा जाने बताए । अर्का उम्मेदवार रबिना थापाले सहमति, सहकार्य नै एनआरएनएको हितमा रहेको बताइन् । उनले पूर्व अध्यक्षमहरुलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने बताइन् ।

अध्यक्षका आकांक्षीबीच सहमति भएपनि पूर्वअध्यक्ष शेष घले भने सहमतिमा आएका छैनन् । घलेले याक एण्ड एतिमा छुट्टै महाधिवेशन गरिरहेका छन् । तर, उनले बोकेको कुनै पनि उम्मेदवार सामेल भएका छैनन् । कांग्रेसले त्यस महाधिवशेनमा नजान सर्कुलर जारी गरेको थियो ।

त्यसकारण पनि धेरैजसो गैरआवासीयहरु त्यस कार्यक्रममा देखिएनन् । केही पनि सर्कुलरको अवज्ञा गर्दै पनि कार्यक्रममा पुगेका थिए । उक्त कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा भने प्रमुख अतिथि बनेर भाषण ठोके । अर्थमन्त्री शर्माले भने घले र आचार्य दुवैजनाले बोलाएकाले आफू आएको बताए।

विश्व सम्मेलनको उद्घाटन सत्रमा पूर्वअध्यक्ष शेष घले, उनकी श्रीमती जमुना घले, उपाध्यक्ष सोनाम लामासहित केही एनआरएनए अभियन्ताहरूको सहभागिता रहेको थियो । घले दुई कार्यकाल एनआरएनएको अध्यक्ष थिए । उनकी श्रीमती जमुना भने अध्यक्षमा भारी मतले पराजित भएकी थिइन् । घलेले एनआरएनएभित्रको बेथिति हटाउन विश्व सम्मेलन गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*