वीर अस्पताल पुगेर प्रचण्डले भेटे घाइते पूर्व-जनमुक्ति सेना

हेटौंडा खबर
८ चैत्र २०७८, मंगलवार १६:०७

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनयुद्धका घाइते पूर्व जनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त राना मगरलाई भेट्न वीर अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि राना वीर अस्पताल भर्ना भएका थिए ।

अध्यक्ष प्रचण्डले उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग परामर्श गर्नुका साथै आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।भेटको क्रममा अध्यक्ष प्रचण्डले आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल तथा व्यवस्थामा कुनै कमी हुन नदिने, ७ वर्षको बच्चाको पढाई र श्रीमतीको रोजगारीको लागि पहल गर्ने बताए । राना काभ्रेको महाभारत गाउँपालिका निवासी हुन् ।

बागमती गाउँपालिका–४ (साविकको फापरबारी–१) झुरझुरेमा २०६२ माघ ८ को साँझ ६ बजेदेखि तत्कालीन शाही नेपाली सेना र विद्रोही माओवादीबीच भिडन्त सुरु हुँदा उनी घाइते भएका थिए ।झन्डै १२ घण्टासम्म चलेको भिडन्तमा ३ सर्वसाधारणसहित ३९ जनाको मृत्यु भएको थियो । ५० जनाभन्दा बढी घाइते भएका थिए । घाइतेपछि उनलाई सहयोद्धा साथी र जनसेनाको प्राथमिक उपचार टोलीले सामान्य उपचार गरेको थियो ।

टाउकोमा गोलीका छर्रा भएको मगरले विभिन्न अस्पतालमा उपचार गराए । उपचारपश्चात दुखाइ र हिँडाइमा केही सहज त भयो तर टाउकोमा रहेको गोली छर्रा भने निकालिएन । बाहिरी अंगको चोट ठीक भए पनि शरीरमा रहेका गोलीका छर्राले उनलाई सधै दुःख दिइरह्यो ।उक्त गोलीका छर्राको कारणले विगत ५ वर्ष पहिलादेखि नै उनको बोल्न सक्ने अवस्थामा छैन । त्यसैको असर विस्तारै शरीरमा हुँदै गएपछि हाल उनको दुईवटै खुट्टाको अपरेसन गरि वीर हस्पिटलमा उपचार भइरहेको छ ।

रानालाई प्यारालाइसिस भएपछि उनको खुट्टा काट्नु परेको थियो । आर्थिक अवस्था कमजोर भएका ३३ वर्षीय रानाको टाउकोमा लागेका गोलीका छर्रा भने अहिलेसम्म निकाल्न सकिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*