बागमती प्रदेशसभाको नवौं अधिवेशन अन्त्य

हेटौंडा खबर
९ चैत्र २०७८, बुधबार २०:०५

बागमती प्रदेशसभाको चालु नवौं अधिवेशन अन्त्य गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले एक सूचना जारी गर्दै आज बुधबार रातको १२ बजेदेखि लागू हुने गरी नवौं अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालु नवौं अधिवेशन बैठक अन्त्य गरेका हुन् । बागमती प्रदेशको बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेअनुसार, नवौं अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण करिब ३ महिना अवरुद्ध प्रदेशसभा बैठक पुनः संचालन भएपछि २ वटा बैठक बसेर नवौं अधिवेशन अन्त्य गरिएको हो । प्रदेशसभाको नवौं अधिवेशन अन्तर्गत १२ वटा बैठकहरु संचालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको पछिल्लो गत फागुन २९ गते, ३० गते र चैत्र ८ गते बसेको बैठकले २ वटा विधेयक पारित गरेको थियो भने अन्य ३ वटा विधेयकहरु संशोधनको लागि पेश गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*