एनआरएनएमा शेष घले समूहले घोषणा गर्‍यो कार्यसमिति

हेटौंडा खबर
१० चैत्र २०७८, बिहीबार १२:४८

गैरआवासीय नेपाली संघ (एनआरएन)को शेष घले समूहले कार्यसमिति घोषणा गरेको छ। संस्थापन पक्षसँग असन्तुष्ट उक्त समूहले याक एण्ड यती होटल सम्मेलन गर्दै विनोद कुँवरको अध्यक्षतामा कार्यसमिति घोषणा गरेको हो।

२०१९-२१ कार्यकालका लागि एसिया प्रशान्त क्षेत्रको उपक्षेत्रीय संयोजकमा पराजित विनोद कुँवरलाई अध्यक्ष घोषणा गरिएको छ। कुँवर दक्षिण कोरियामा बसोबास गर्ने व्यवसायी हुन्। महाधिवेशन आयोजक समितिका संयोजक पनि रहेका उपाध्यक्ष सोनाम लामाले अध्यक्ष पदमा उम्मेदवारी दिन अस्वीकार गरे पछि कुँवरलाई अगाडी सारिएको हो।गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक शेष घलेले गराएको निर्वाचनलाई संघका अधिकांश सदस्य तथा अभियन्ताहरुले बहिष्कार गरेको बताइएको छ।
बुधबार दिनभर सहमति गर्न प्रयास गर्दा पनि घले दम्पती सहमतिमा नआए पछि संघका बहुसंख्यक राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुले आफूले प्रमुख संरक्षक घलेलाई दिएको म्यान्डेट फिर्ता लिएको घोषणा गरेका थिए। त्यस्तै बुधबार नै प्रमुख निर्वाचन अधिकृत विश्व बरालसहित निर्वाचन समितिका अधिकांश सदस्यहरुले आफ्नो पदबाट राजीनामा दिएका थिए। तर घलेले निर्वाचन समिति नै पुनर्गठन गरिएको भन्दै निर्वाचन कार्यक्रम अगाडि बढाएका थिए।

बुधबार राति घोषणा गरिएको नयाँ कार्य समितिमा त्यस्तै नयाँ कमिटीमा उमेश पुडासैनी (कुवेत), बाबुराम लामा (अमेरिका), सुरेन्द्र सिग्देल (अष्ट्रेलिया), तथा भोमा लिम्बु (अष्ट्रेलिया) उपाध्यक्ष चुनिएका छन्।  यसैगरी महासचिवमा जानकी गुरुङ (बेल्जियम), सचिव जुनु गुरुङ (कोरिया), कोषाध्यक्ष डिला खरेल (अष्ट्रेलिया) निर्वाचित भएको घोषणा गरिएको थियो। क्षेत्रीय संयोजकमा केशव कँडेल (ओसनिया), कृष्ण पोखरेल (अमेरिकाज) तथा उल्का घिमिरे (युरोप संयोजक) रहेका छन्।

२,६०० प्रतिनिधि रहेको भनिएको अधिवेशनमा १५० भन्दा कम प्रतिनिधिहरु मात्रै चुनावमा सहभागी भएको बताइएको छ।  संस्थापन पक्षले भने अदालतको आदेशअनुसार भन्दै यही चैत ११ र १२ मा तय गरिएको अधिवेशन स्थगित गरेको छ। घले समूहले फरक निर्वाचन अभ्यास थाल्दा अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यसमेत थिए। तर केही दिनअघि आचार्य उक्त समूहका बहुसंख्यक प्रतिनिधिसहित संस्थापन पक्षसँग मिलेका थिए।

आगामी कार्यकालको आधा समयका लागि अध्यक्ष हुने गरी आचार्यले संस्थापनसँग सहमति गरेका हुन्। आचार्यको सहमतिमा सहमत हुन नसकेका एनआरएनएका संरक्षक शेष घलेले आफ्नो सानो समूहलाई छुट्टै संगठित गरेर कार्यसमिति गठन गरेका हुन्।

संघका निवर्तमान उपाध्यक्ष लामाको संयोजक रहेको घलेको छुट्टै महाधिवेशन आयोजक समिति थियो।  एनआरएनएका पूर्वअध्यक्ष समेत रहेका संरक्षक घलेले विधानले दिएको अधिकार प्रयोग गर्दै वर्तमान कार्यसमिति विघटन गरी नयाँ निर्वाचन समिति बनाएको दाबी गरेका थिए।

एनआरएनएका अध्यक्ष कुमार पन्तको कार्यसमितिले गत अक्टोवरमै गराउनुपर्ने निर्वाचन गराउन नसकेको भन्दै घले समूह असन्तुष्ट थियो। मंगलबार काठमाडौंको याक एन्ड यती होटलमा छुट्टै सम्मेलन सुरु गरिएको थियो। उक्त सम्मेलने बुधबार मनोनयनको समय तोकेको थियो र त्यस समयमा कोरियावासी कुँवरले मात्रै घले समूहमा एनआरएनएका ६५ एनसीसीमध्ये जम्मा दुईले समर्थन गरेका छन्। त्यसकारण एनआरएनएको एउटा सानो समूह मात्रै अलग भएको रुपमा संस्थापन पक्षले बुझेको छ।

घले पक्षलाई समर्थन गर्दै विदेशबाट काठमाडौं आइपुगेका धेरैले यो कार्यमा समर्थन नजनाएपछि कार्यसमिति घोषणा कार्यक्रममा समेत हल खाली रहेको थियो। संस्थापन पक्षले भने अदालतको फैसलापछि निर्वाचन प्रक्रियालाई निरन्तरता दिने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*