पालिकाका भवन उद्घाटन गर्न हेलिकप्टर चढेर देश दौडाहामा देउवा

हेटौंडा खबर
१० चैत्र २०७८, बिहीबार १५:३७

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान स्याङ्जाको चापाकोट नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरे। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा काठमाडौंबाट पार्टी नेता गोपालमान श्रेष्ठसहित हेलिकप्टरमा स्याङ्जा पुगेर भवन उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले नगरपालिकाले भवन बनाएकोमा खुसी व्यक्त गर्दै सेवा पनि राम्रो दिनुपर्ने बताए।‘अहिले धेरै गाउँपालिका र नगरपालिकाले आफ्नै भवन बनाएका छन्,’ प्रधानमन्त्री देउवाले भने, ‘चापाकोटले पनि भवन बनायो, जनताको सेवा गरेर मन जित्ने काम पनि गरोस्।’

प्रधानमन्त्री देउवा आजै स्याङ्जाबाट तनहुँ जाने कार्यक्रम छ। तनहुँमा पनि उनले पालिका भवन उद्घाटन गर्दैछन्। देउवाले ऋषिङ गाउँपालिको भवन उद्घाटन गर्ने कार्यक्रम छ।  नेकपा एमालेले उक्त कार्यक्रम बहिष्कार गर्ने भनेको छ।पछिल्लो एक महिनादेखि प्रधानमन्त्री देउवा देश दौडाहमा छन्। उनी जहाँ पुग्छन्, प्राय: सबै ठाउँमा पालिकाका भवन उदघाटन गर्छन्। सँगैै पार्टीका विभिन्न कार्यक्रम पनि हुन्छन्।

गाउँपालिका र नगरपालिकाका भवन उद्घाटन कार्यक्रमको मौकामा प्रधानमन्त्री देउवाले चुनावी प्रचार तथा एमसिसीलगायत बारेका भ्रम चिर्ने प्रयास गरेको देखिन्छ।प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकप्टरबाट देशका विभिन्न ठाउँका कार्यक्रममा पुगिरहेका छन्। प्रधानमन्त्री देउवा चैत ७ मा मोरङको सुन्दरहरैचा नगरपालिका पुगेका थिए। उनले त्यहाँ प्रशासकीय भवन उद्घाटन गरेका थिए। उनले नगर अस्पताल पनि उद्घाटन गरेका थिए।

सोही दिन प्रधानमन्त्री देउवा खोटाङ पुगेका थिए। उनले दिक्तेल रूपाकोट ४ र दिप्रुङ चुईचुम्मा १ जोड्ने पुल उद्घाटन गरेका थिए।प्रधानमन्त्री देउवाले चैत ५ मा काभ्रेको तेमाल गाउँपालिका प्रशासकीय भवन उद्घाटन गरे भने सोही दिन खिम्ती सब-स्टेशन पनि उद्घाटन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यसअघि फागुन ३० मा प्रधानमन्त्री देउवाले नुवाकोटका दुइटा स्थानीय तहका भवन उद्घाटन गरेका थिए। तादी गाउँपालिका र किस्पाङ गाउँपालिकाको भवन उनले उद्घाटन गरेका हुन्। त्यसबेला कांग्रेस प्रवक्ता प्रकाशशरण महत पनि पुगेका थिए।

प्रधानमन्त्री देउवा गाउँ जाँदा सम्बन्धित जिल्लाका पार्टी शीर्ष नेतालाई साथै लिएर जाने गरेका छन्।प्रधानमन्त्री देउवा यसबीचमा पार्टी कार्यक्रममा पनि पुगेका थिए। फागुन २६ गते उनी कांग्रेस पर्साको जिल्ला अधिवेशनबाट निर्वाचित भएकाहरूको पद हस्तान्तरण कार्यक्रमका लागि वीरगञ्ज पुगेका थिए।यसबारे प्रधानमन्त्री देउवा पनि सचेत छन्। उनी आफैंले आफू गाउँ/नगरका भवन उद्घाटनमा आइरहनुनपर्ने सार्वजनिक रूपमै बोलेका थिए।नुवाकोटको तादी गाउँपालिका भवन उद्घाटन कार्यक्रममा उनले साथीहरूको आग्रहअनुसार आफू भवन उद्घाटनमा आएको बताएका थिए।

‘तपाईंहरू आफ्ना काम छाडेर बिहानदेखि आउनुभयो, त्यसका लागि धन्यवाद,’ देउवाले भनेका थिए, ‘प्रशासकीय भवनहरू बनेकोमा मलाई खुसी लागेको छ।’उनले प्रधानमन्त्री आएर गाउँपालिकाको भवन उद्घाटन गर्नु राम्रो भने नदेखिने बताएका थिए।‘गाउँपालिका-गाउँपालिका पनि प्रधानमन्त्री आएर भवन उद्घाटन गर्नु वास्तवमा राम्रो होइन,’ देउवाले भनेका थिए, ‘गाउँ-गाउँमा भवन बनेका छन्, उत्साह होस् भनेर आएको हुँ।’

उनले पार्टीका नेताहरूको आग्रहमा आफू भवन उद्घाटनका लागि आउनु परेको पनि बताएका थिए।‘भवन उद्घाटन गरिदिनुपर्‍यो भनेर भनेका भन्यै गर्छन्,’ देउवाले भने, ‘आफ्नै साथीभाइले बोलाएपछि नाइँ भन्ने कुरा पनि भएन।’

प्रधानमन्त्री देउवा हेलिकप्टर चढेर स-साना कार्यक्रममा जाने गरेकोमा आलोचनासमेत हुने गरेका छन्। प्रधानमन्त्री चढ्ने सेनाको हेलिकप्टरको भाडा राज्यकोषबाट तिर्नुपर्छ। लाखौं भाडा तिरेर लिएको हेलिकप्टर चढेर गाउँ/नगर र पार्टी कार्यक्रममा जाने गरेकोमा प्रधानमन्त्रीको आलोचना हुने गरेको छ।

बुधबार त देउवाले बालुवाटारबाट चन्द्रागिरि जाँदा पनि हेलिकप्टर प्रयोग गरेका थिए। दीगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि देउवा हेलिकप्टरमा चन्द्रागिरि पुगेका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*