विमानस्थलमा आफन्त पर्खिन बसेकोसँग पैसा लिने कुराको विरोध भएपछि बाहिर छुट्टै प्रतीक्षालय बन्ने

हेटौंडा खबर
१० चैत्र २०७८, बिहीबार १७:२६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त लिन आउनेले बस्नका लागि पैसा तिर्नु पर्ने कुराको चौतर्फी विरोध भएपछि आगमन कक्षबाहिर नि:शुल्क बस्न मिल्ने छुट्टै कक्ष बनाइने भएको छ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले त्यसका लागि आइएमएस ग्रुपलाई मौखिक रूपमा भनिसकेको जानकारी दिए।

‘मैले उहाँहरूलाई बोलाइसकेको छु। फोनमा कुरा गर्दा उहाँहरूले ठाउँ देखाइदिनु भन्नुभएको छ। म फिल्डमै गएर पनि उहाँहरूलाई भन्छु,’ उनले भने।महाप्रबन्धक ठाकुरले आइएमसले प्रतीक्षालय बनाउन नचाहे विमानस्थल आफैंले बनाउने बताए।उनले भने, ‘उहाँहरूले गर्नुभएन भने विमानस्थलले गर्छ। यो म प्रतिवद्धता गर्छु। सकेसम्म उहाँहरूले नै गर्नुहुन्छ र गर्नुभएन भने विमानस्थलले बनाउँछ।’

उनका अनुसार नयाँ बन्न लागेको प्रतिक्षालय लगभग २५ जना मानिस बस्ने मिल्ने खालको हुन्छ। उक्त प्रतिक्षालयमा कुर्सी राखेर बस्न मिल्ने गरी बनाइने र पंखा पनि जोडिनेछ।अहिले आगमन कक्षबाहिर शुल्क नतिरी बस्न चाहनेका लागि सामान्य ओत लाग्ने गरी उभिने ठाउँ बनाइएको छ। तर शुल्क तिर्नेहरूका लागि भने एसी र सुविधासम्पन्न शौचालयसहितको कक्ष बनाइएको छ।

सरकारले आइएमएस ग्रुपलाई विमानस्थलको नयाँ आगमन कक्ष ३० वर्षको लागि सञ्चालन गर्ने जिम्मा दिएको छ। सोहीअनुसार कम्पनीले आफन्त कुर्न आउनेहरूका लागि पचास र सय रुपैयाँ गरी दुई वटा शुल्क तोकेको छ। जसमा सुपरियर कक्षमा बस्नेका लागि पचास र डिलक्स कक्षमा बस्नेका लागि सय रुपैयाँ शुल्क तोकिएको छ।

शुल्क नतिर्नेहरू भने आगमन कक्षमा प्रवेश गर्न पाउने छैनन्। उनीहरूलाई बाहिरै सामान्य ओत लाग्ने ठाउँ बनाएर उभिने व्यवस्था गरिएको छ। अहिले सोही कुराको चर्को विरोध भएपछि त्यसलाई मथ्थर बनाउन आगमन कक्षबाहिर एउटा प्रतीक्षालय बनाउन विमानस्थलका अधिकारीहरू कस्सिएका छन्।

नयाँ प्रतिक्षालय बन्ने भए पनि पर्खिनेसँग शुल्क लिने व्यवस्था भने हट्ने छैन। सरकारले आगमन कक्ष सञ्चालनको जिम्मा निजी कम्पनीलाई दिएको भन्दै त्यसमा हस्तक्षेप गर्न नमिल्ने विमानस्थलको ठहर छ।

यसमा तपाइको मत

Your email address will not be published.


*