मकवानपुरगढी शनिबार बालमैत्री गाउँपालिका घोषणा हुँदै

हेटौंडा खबर
११ चैत्र २०७८, शुक्रबार १६:०९

 मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका बालमैत्री स्थानीय शासन लागू भएको गाउँपालिका घोषणाको अन्तिम तयारी पूरा गरेको छ ।औसतमा वार्षिक ४ दर्जनसम्म बालविवाह छुट्याउने गरेको यो गाउँपालिकामा अहिले बालविवाह शून्य नभएपनि अपेक्षा गरेभन्दा राम्रो न्यूनीकरण भएको अध्यक्ष बिदुर हुमागाँईले बताए । गाउँपालिका भोलि शनिबार बालमैत्री घोषणा हुँदैछ ।

गाउँपालिकाले बालमैत्री घोषणाको लागि तोकिएको ५१ वटै सूचकहरूमा सफलता हासिल गरेकोले बालमैत्री घोषणाको लागि जिल्ला समन्वय समिति मकवानपुर र बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले सिफारिस प्रदान गरिसकेको अध्यक्ष हुमागाँईले बताए । प्रदेशका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाले गाउँपालिकाले बालमैत्री घोषणाको लागि आधार पूरा गरेकाले यसको लागि सिफारिस गरेको उनकाे भनाइ छ।

बालमैत्री घोषणापछि दीगो कार्यान्वयनका लागि स्थानीय शासन, विकास निर्माण तथा सामाजिक क्षेत्रमा कमजोर हुन नदिन गाउँपालिकाले वडास्तरको लगानी योजना, पाँच वर्षे रणनीतिक योजना बनाएको छ । “यो घोषणा एउटा आधार मात्रै हो बालमैत्री दीगोपनाको लागि हामीले आधार बनाएका छौ” हुमागाँईले भने ।

स्कुल, स्वास्थ संस्था, सामाजिक संघसंस्थालगायतले भौतिकलगायतको  संरचनामा तोकिएको अनुसारको सूचक पूरा गरे नगरेको निगरानी सधैं हुने गाउँपालिकाका प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताए । बालबालिकालाई श्रममा जानबाट रोक्न र बिद्यालय जान प्रोत्साहन गर्न गाउँपालिकाले कक्षा १२ सम्मका सबै विद्यार्थीलाई दिवा खाजा कार्यक्रम लागू गर्दै आएको पुडासैनी बताउँछन् ।

यसै गरी स्वास्थ्य संस्थालाई आत्मनिर्भर बनाउँदै स्थानीयलाई स्वास्थ्य व्यवहार अपनाउन प्रोत्साहन गर्न सामाजिक सचेतनालगायतको कार्यक्रम गर्दै  आएको पुडासैनीले बताए । स्वास्थ संस्था अन्तरगतका तोकिएको १४ वटा सूचकमा गाउँपालिकाले अपेक्षा गरेको भन्दामाथि सफलता हासिल गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भीमसागर गुरागाईले बताए ।

गाउँपालिकामा १८ वर्षमुनिका ४ हजार ६२४ बालक र ३ हजार ६७२ बालिका गरि ८ हजार २९६ जना बालबालिका रहेका छन् । बालमैत्री स्थानीय शासन कार्यान्वयन प्रक्रियाका कागजात व्यवस्थापनका लागि फाइल सुची तयारी कार्यशाला सम्पन्न भई ३३ प्रकारका फाइल खडा गरिएको बालमैत्री स्थानीय शासन कार्यक्रम सहसंयोजक कविराज हुमागाईले बताए ।

बालमैत्री स्थानीय शासन ऐनले तोकेको ५१ वटा सूचकहरू पुरा गरेर बालमैत्री स्थानीय शासन लागू भएको पालिकाको रूपमा घोषणा हुँदा यो गाउँपालिका नेपालको दोस्रो पालिका हुनेछ । यस अघि बालमैत्री घोषणाका लागि ४९ वटा सूचकहरू तोकिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*