मतदाता नामावली प्रकाशनको अन्तिम तयारी

हेटौंडा खबर
११ चैत्र २०७८, शुक्रबार १६:५२

निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । यही चैत १३ गते प्रकाशनका लागि आयोगले नामावली रुजु गर्ने, कम्प्युटरमा अपलोड गर्ने लगायतका काम गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए ।

यसअघि कायम रहेको मतदाता संख्यामा केही कमी आउने आयोगले अनुमान गरेको छ । मतदाता नामावलीमा रहेका मृतक, नागरिकता त्याग गरेका र दुई स्थानको मतदाता नामावलीमा नाम रहेकाहरुको नाम हटाइने भएकोले केही संख्या घट्ने प्रवक्ता पौडेलले बताए ।

उनले भने– ‘विभिन्न कारणले नागरिकता त्याग गरेकाहरु वा खोसिएकाहरु, मृत्यु भएका व्यक्तित्वहरुको नाम हटाउँदा र दुई ठाउँको मतदाता नामावली भएकाहरुको नाम हाम्रो सिस्टमले हटाउने गर्छ । त्यस्ता ब्यक्तिको नाम हटाउँदा केही घटेर अन्तिम मतदाता नामावली प्रकाशन हुन्छ ।’दावी विरोध पूर्वको अवस्थामा मतदाता नामावलीमा करिब १ करोड ७७ लाख मतदाता रहेका छन् ।

आयोगले कूल मतदाता संख्याको १० देखि १५ प्रतिशत बढी मात्रामा मतपत्र प्रकाशन गर्ने तयारी गरेको छ । आयोगका अनुसार आगामी स्थानीय तह निर्वाचनका लागि २ करोडको संख्यामा मतपत्र छापिनेछ । मतपत्र छपाईका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल भइरहेको आयोगको भनाई छ ।

यसैबीच आयोगका प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरु देशका विभिन्न भागमा पुगेर निर्वाचन आचार संहिता सचेतना सम्बन्धी कार्यक्रममा सहभागी भइरहेका छन् । उनीहरुले सातै प्रदेशमा पुगेर राजनीतिक दल तथा सरकारी कर्मचारीहरुका बिचमा सो कार्यक्रम गरिरहेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*