चिनियाँ परराष्ट्रमन्त्री वाङ शनिबार शिवपुरी हाइकिङ जाने

हेटौंडा खबर
११ चैत्र २०७८, शुक्रबार १७:३२

वाङ यी केहीबेरमा तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौंस्तिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन्।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउँदै छन्। आज नेपाल भ्रमणमा आउने यीले औपचारिक रूपमा शनिबारबाट मात्रै भेटघाट गर्ने कार्यक्रम रहेको छ। नेपाल बसाईका क्रममा चिनियाँ परराष्ट्रमन्त्री यीले केही अनौपचारिक भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ। चीनका लागि राजदूत भएका केही व्यक्तिलाई चिनियाँ परराष्ट्रमन्त्री यीले भेटघाट गर्दैछन्।

उनको औपचारिक भेटवार्ता शनिबार मात्रै हुनेछ। भारतबाट नेपाल आउन लागेका चिनियाँ परराष्ट्रमन्त्री बत्तीसपुतलीस्थित द्वारिकाज होटलमा बस्ने कार्यक्रम बनेको छ भने शनिबार बिहान उनी शिवपुरी हाइकिङ जाने स्रोतको दाबी छ। यसअघि भदौ २०७६ मा नेपाल भ्रमणमा आउँदा चिनियाँ परराष्ट्रमन्त्री यी चन्द्रागिरी हाइकिङ गएका थिए भने २०७२ मा नेपाल भ्रमणमा आउँदा नगरकोट हाइकिङ पुगेका थिए।

शनिबारको उनको औपचारिक भेटवार्ता सरकारी पराधिकारीसँग हुने कार्यक्रम रहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चिनियाँ परराष्ट्रमन्त्री यीले आइतबार मात्रै भेट्ने छन्। शिर्ष नेतालाई भेट्ने क्रममा चिनियाँ परराष्ट्रमन्त्री यीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत मधेसी दलका नेतालाई भेट्ने कार्यक्रम भने सार्वजनिक भएको छैन। अन्य दलका नेतालाई नभेट्ने नै हो वा कार्यक्रम सूचीमा मात्रै नपरेको हो भन्ने विषयमा परराष्ट्र मन्त्रालयले केही बताउन चाहेन।

यसमा तपाइको मत

Your email address will not be published.


*