चुनावी तालमेलबारे कांग्रेसमा तीव्र मतभेद

हेटौंडा खबर
१३ चैत्र २०७८, आईतवार १५:१६

आगामी स्थानीय चुनावमा तालमेल गर्ने विषयमा सत्ताको नेतृत्व गरिरहेको दलभित्र तीव्र मतभेद देखिएको छ। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका अधिकांश नेताहरूले वर्तमान सत्ता गठबन्धनलाई जोगाएर चुनावमा पनि सत्ताकै सहयात्रीहरूसँग तालमेल गर्नुपर्ने बताइरहेका बेला केही नेताहरू भने गठबन्धन गर्न नहुने पक्षमा धारणा राखिरहेका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूको धारणा नै आपसमा विभाजित भएको हो। केन्द्रीय समिति बैठकमा हालसम्म २१ सदस्यले बोलेको र बोल्ने क्रम जारी रहेको केन्द्रीय सदस्य प्रतीमा गौतमले जानकारी दिइन्। उनका अनुसार अधिकांश केन्द्रीय सदस्यले गठबन्धनको निर्णय लिने जिम्मेवारी तल्लो तहलाई नै दिनुपर्ने धारणा राखेका छन्।

‘गठबन्धनको निर्णय लिँदा तल्लो तहका संसदीय समितिलाई निर्णय गर्ने अधिकार दिनुपर्छ भन्ने अधिकांश केन्द्रीय सदस्हयरूको धारणा छ,’ उनले भनिन्, ‘अहिलेसम्म २१ जनाले धारणा राखेका छन्। घरघर जाऔँ, कांग्रेस जिताऔँ अभियानमा खटिएका केन्द्रीय सदस्यहरूले जिल्लाको रिपोर्ट प्रस्तुत गरिररहेका छन्। गठबन्धन राजनीतिक अभ्यास भएकाले गठबन्धन गरौँ भन्ने मत पनि आएको छ। कतिपयले अहिले सिंगल नलडे कहिले लड्ने भन्ने मत व्यक्त गर्नुभएको छ।’

बैठकअघि सञ्चारकर्मीहरुसँग बोलेका कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले भने आवश्यकताको सिद्धान्तका  आधारमा चुनावमा तालमेल हुने बताएका थिए। ‘आवश्यकताको सिद्धान्तका आधारका गठबन्धन हुन्छ। बढीभन्दा बढी सिट जित्ने गरी नेपाली कांग्रेसले चुनावी तालमेलका विषमया निर्णय गर्छु,’ उनले भने।

कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले चुनावी तालमेल देशको आवश्यकता भएको दाबी गरे। ‘गठबन्धन गर्नुपर्ने राष्ट्रको आवश्यक्ता हो। मुलुकमा सुशासन र विधिको शासनका लागि गठबन्धन आवश्यक छ। सधैं गठबन्धन गर्ने हैन। गठबन्धन चुनाव जित्न मात्र होइन, संविधान जोगाउन र बचाउन हो,’ उनले भने।

स्थानीय तहको मतभारको आधारमा गठबन्धन बनाउने मोडल बनाउनु उपयुक्त हुने उनको सुझाव छ।त्यसैगरी बैठकअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङले कांग्रेसले  माओवादीसँग गठबन्धन गरे त्यो एमाले जिताउने गठबन्धन हुने टिप्पणी गरे। उनले भने, ‘गठबन्धनको विरोधी हामी होइनौं, चितवनमा दुईपटक गठबन्धन गरेका छौं। १० वर्षसम्म पार्टीमा भोट नहाल्दा पार्टी छिन्नभिन्न हुने भयो।

यसपटक भरतपुर महानगर हामीले पाउनुपर्छ। अहिले माओवादीले हामीलाई सघाउनुपर्छ। हाम्रो कुरा सभापतिले सुन्नुपर्छ। हामीले यसअघि जितेका हौं। म सभापति हुँदा चार क्षेत्र जितेको हो। सभापतिलाई ब्रिफिङ नपुगेको हो। पञ्चायतदेखि नै कांग्रेसले चितवनमा जितेको हो।’ रतपुरका २९ वडामध्ये माओवादीले दुई वटामा मात्र जितेको बताउँदै गुरुङले अब माओवादीलाई मेयर दिन नसकिने बताए। भने, ‘रेणु दाहालको सम्भावना बढ्यो भन्ने सुनेको छु। रेणु उठे हार्छिन्, हाम्रै साथीहरूले भोट दिँदैननन्। भोलि प्रचण्ड हार्लान्, अनि गठबन्धनको के अर्थ?’ चितवनमा कांग्रेस कमजोर नभएको भन्दै उनले केन्द्रबाट कमजोर बनाइएको गुनासो गरे।

उनले भने, ‘चितवनका बारेमा  मैले पीचएडी गरेको छु, मलाई सबै थाहा छ। एकै ठाउँमा लाद्न भएन गठबन्धन भनेर। बाउछोरीलाई नै एकै ठाउँमा दिएपछि कांग्रेस चाहिँ ताली पिटेर बस्नेरु यदि गठबन्धन भयो भने एमाले जिताउने गठबन्धन हुन्छ,’ उनले भने।

उता कांग्रेसकी नेतृ सुजाता कोइरालाले आगामी स्थानीय निर्वाचनमा कांग्रेसले गठबन्धन गरेरै जानुपर्ने बताएकी छन्।उनले भनिन्, ‘गठबन्धन गरेर जाने कि नजाने भन्ने छलफल भइरहेको छ। गठबन्धन गरेरै जानुपर्छ भन्ने मेरो धारणा छ। हामी कमजोर भएको ठाउमा छाड्नुपर्छ, बलियो भएको ठाउँमा हामी लड्नुपर्छ भन्ने मेरो धारणा छ।

गठबन्धनका कारण प्रधानमन्त्री र मुख्यमन्त्री हामीले पाएका छौं। चुनावका मुखमा विवाद गर्न हुँदैन।’ पार्टीभित्र गुट–उपगुटको अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले नेपाली कांग्रेस कांग्रेस आईजस्तो हुन्छ भनेर निराशाजनक कुरा गर्न नहुने बताइन्। उनले भनिन्, ‘नेपाली कांग्रेस विलय हुँदैन। एमसीसी पास भएको छ। चिनियाँ विदेशमन्त्री आउनुभएको छ, ९ बुँदे सहमति भएको छ चीनसँग। एमसीसी र चीनसँगको सम्झौताले नेपाल विकासपथमा लम्किनेछ। त्यसैले कांग्रेसले बहुमतले जित्छ भन्ने मलाई लाग्छ।’

शुक्रबार केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा नेपाली कांग्रेस गण्डकी र लुम्बिनी प्रदेशका सभापतिले गठबन्धन गर्दै जाने हो भने पार्टीको हालत कांग्रेस आईको जस्तै हुने बताएका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*