कस्तो बन्दैछ कांग्रेसको टिकट बाँड्ने समिति ?

हेटौंडा खबर
१५ चैत्र २०७८, मंगलवार १२:१६

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार केन्द्रीय संसदीय समिति गठनको प्रस्ताव गर्दैछन् ।

दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सभापति देउवाले संसदीय समिति गठनबारेको प्रस्ताव ल्याउनेछन् । त्यो संसदीय समितिले आसन्न तीन तहकै निर्वाचनमा टिकट वितरण गर्नेछ ।कांग्रेसको विधानअनुसार केन्द्रीय संसदीय समिति बढीमा २५ सदस्यीय हुन्छ । पार्टीका सभापति र महामन्त्री स्वतः संसदीय समितिमा पनि सभापति र महामन्त्री हुन्छन् । त्यसबाहेक सबै पदाधिकारीहरू समितिमा पदेन सदस्य हुने व्यवस्था छ ।

विधानअनुसार सभापति देउवाले संसदीय समितिमा समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखेर बढीमा ११ जना केन्द्रीय सदस्यहरूलाई समितिको सदस्यको रुपमा मनोनीत गर्न पाउँछन् । सभापतिले प्रस्ताव गरेका ती नाम केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।

सभापति देउवाले मंगलबार नाम प्रस्ताव गरे तत्कालै बैठकले अनुमोदन गर्नेछ । नेताहरूका अनुसार मंगलबार सभापति देउवाले नाम प्रस्ताव नगर्ने, तर बैठकले संसदीय समितिलाई पूर्णता दिने कार्यका लागि सभापतिलाई अधिकार दिने सम्भावना रहेको समेत बताउँछन् ।

स्थानीय, प्रदेश र संघको निर्वाचनमा समेत टिकट वितरणमा समितिको भूमिका प्रभावकारी हुने भएकाले सभापति देउवाले मनोनीत गर्ने सिटमा पर्न नेताहरूको लबिङ छ । सभापति देउवाले भने नेताहरूको चाहनाअनुसार भन्दा पनि वरियताका आधारमा मनोनयनको प्रस्ताव गर्ने सम्भावना बढी रहेको नेताहरूको भनाइ छ । ‘विधानले वरियताका आधारमा मनोनयन गर्ने भनेको छैन, सभापतिले समावेशी सिद्धान्तमा आधारित भएर ११ जनाको नाम प्रस्ताव गर्ने र त्यसलाई केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था हो,’ एक केन्द्रीय सदस्यले भने, ‘तर सभापतिज्यूले वरियताको आधारमा सदस्य मनोनयनको प्रस्ताव गर्ने सम्भावना उच्च छ ।’

स्थानीय तह निर्वाचनमा महानगरपालिकाका प्रमुख र उपप्रमुखको टिकट केन्द्रीय संसदीय समितिले वितरण गर्छ । त्यस्तै, प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समेत उम्मेदवारको चयनमा संसदीय समितिले गर्ने निर्णय अन्तिम हुन्छ । त्यसआधारमा संसदीय समिति केन्द्रीय समितिभन्दा शक्तिशाली देखिन्छ ।

सभापति देउवाले वरियताका आधारमा सदस्य मनोनयन गर्दा १४ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी नेता शेखर कोइराला पर्ने छैनन् । हाल केन्द्रीय समितिका वरियतामा उनी २६ औँ नम्बरमा छन् । कोषाध्यक्ष नियुक्त भएपनि उनी २७ औँ नम्बरमा पर्नेछन् ।

विधानअनुसार हाल पदाधिकारीपछि वरियतामा पूर्वपदाधिकारीहरूलाई माथि राखिएको छ । वरियताका आधारमा सदस्य मनोनयन गर्दा कोइराला नपर्ने भएपछि कोइराला समूहले उनलाई समेटेर मात्रै संसदीय समिति गठन हुनुपर्ने माग गरेको छ । त्यसमा समस्या हुन सक्ने देखिएपछि सोमबार केन्द्रीय समिति बैठकपछि नेताहरूले अलग्गै बसेर छलफल समेत गरेका थिए । छलफलमा सहभागी एक नेताका अनुसार त्यसबारे के गर्ने भनेर सहमति भइसकेको छैन ।

यदि सभापति देउवाले वरियताकै आधारमा ११ केन्द्रीय सदस्यलाई मनोनयनको प्रस्ताव गरे पदाधिकारीबाहेक वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी र प्रकाशसरण महत मात्रै पर्छन् । तर, सभापति देउवाले वरियताभन्दा आफ्ना विश्वासपात्रहरूलाई समेटेर टिम बनाउने अर्का एक नेताको दाबी छ ।

महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवाले पार्टी भित्रका सबै पक्षलाई समेटेर संसदीय समिति गठन गर्ने बताए । ‘संसदीय समिति टिकट वितरण गर्ने समिति हो, यो महत्त्वपूर्ण समिति हो, त्यसैले त्यहीअनुसार गठन गर्नुपर्ने हुन्छ,’ उनले ईकान्तिपुरसँग भने, ‘त्यसैले यो समितिमा शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई उहाँले छुटाउनुहुन्न ।’

शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पदाधिकारी र सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि मंगलबार प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ । बैठकले चुनावमा गठबन्धन गर्ने सैद्धान्तिक निर्णयसमेत लिने नेताहरूले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*