के राजेश हमाल पनि एमाले प्रवेश गर्न लागेका हुन् ?

हेटौंडा खबर
१५ चैत्र २०७८, मंगलवार १३:३२

सोमबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओली र राजेश हमालबीच भेटघाट भएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भयो । तस्बिर सार्वजनिक भएसँगै कतै राजेश हमाल पनि एमाले प्रवेश गर्न त लागेनन् भन्ने चर्चा चल्यो । यो चर्चालाई सत्यको नजिक मान्न सकिने आधार पनि थिए किनकि यी दुवैको भेटमा छेऊमा करिष्मा मानन्धर पनि थिइन् जो भर्खरै एमाले प्रवेश गरेर ओलीसँगै देश दौडाहामा छिन् । शंका गर्ने अर्को आधार पनि के थियो भने कुनै समय करिष्माको फोटो पनि यसैगरि सार्वजनिक भएको थियो । तर करिष्माले यत्तिकै भेट्न गएको बताएकी थिइन् । कालान्तरमा उनले एमाले अध्यक्षको हातबाट टीका लगाएर एमाले प्रवेश गरिन् ।

उनी निकटहरू भन्छन्, राजेश हमाल जीवनको अर्को इनिङ राजनीतिमार्फत् अगाडि गर्ने मुडमा छन् र यसमा पनि उनको खास चासो कुटनीतिमा छ । यसैले उनले बेलाबखत अन्तर्राष्ट्रिय मामिला विज्ञ जस्तो गफ पनि दिने गरेका छन् । केही समयअघि बेलायतको संसद्मा नेपाललाई खोप दिने विषयमा बहस भएपछि उनले पनि फेसबुकमा मध्यरातमा लामो भिडियो पोस्ट गर्दै नेपाल र बेलायतको दौँत्य सम्बन्ध र कुटनीतिमा नेपालको अक्षमताको चर्चा गरेका थिए । यसपछि पनि उनले एकाध भिडियोमा अन्तर्राष्ट्रिय मामलाको विषयमा धारणा राख्ने गरेका छन् ।

यही परिप्रेक्ष्यमा राजेश हमाल र एमाले अध्यक्ष ओलीबीच भेट भएपछि उनको राजनीति प्रवेशलाई लिएर शंका हुनु स्वाभाविक हो । किनकि यसअघि पनि ओलीले हमाललाई भारत भ्रमणमा हमाललाई साथै लिएर गएका थिए । तर सोमबार साँझको तस्बिर भने योजनाबद्ध नभई आकस्मिक रहेको हमाल निकट स्रोतले बताएको छ । दुवै जनाको भैरहवा एयरपोर्टमा आकस्मिक भेट भएको र सामान्य भलाकुसारी चलेको स्रोत बताउँछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*