मकवानपुर र चितवनका उद्योगमा काटिन्छ १४ घन्टासम्म बिजुली

हेटौंडा खबर
१५ चैत्र २०७८, मंगलवार १४:४१

उद्योगी भन्छन्- लोडसेडिङको तालिका चाहियो, विद्युत् प्राधिकरण भन्छ- ग्राहकको लाइन काटिँदैन, उद्योगले कम्प्रमाइज गर्नुपर्छ

नेपाल विद्युत् प्राधिकरणले औद्योगिक फिडरहरूमा विद्युत् कटौती गर्न थालेपछि उद्योग सञ्चालनमा समस्या भएको सञ्चालकहरूले बताएका छन्।

प्राधिकरणले मकवानपुर र चितवनका औद्योगिक फिडरमा केही दिनदेखि नियमित रूपमा विद्युत् कटौती गरिराखेको छ। चितवन र हेटौंडाका उद्योगहरूमा सोमबार अपरान्ह ४ बजेबाट मंगलबार बिहान सवा ६ बजेसम्म(१४ घन्टा बढी) विद्युत् काटिएको थियो।उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागत प्याकुरेलका अनुसार यसअघि शनिबार साँझ ७ बजेदेखि बिहान ३ बजेसम्म र आइतबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म विद्युत् काटिएको थियो। त्यसअघि पनि हरेक दिन एक/दुई घन्टा काट्ने गरिएको थियो।

प्याकुरेलले प्राधिकरणले विद्युत् लाइन काट्ने समय दिनहुँ बढाउँदै लैजाँदा उद्योग सञ्चालन गर्न समस्या हुन थालेको बताए।

‘दिनदिनै विद्युत् लाइन काटेर गर्न खोजेको के हो, समस्या के हो भन्ने विषयमा हामीलाई कुनै जानकारी भएन,’ पोखरेलले सेतोपाटीसँग भने, ‘मनलाग्दी समयमा विद्युत कटौती गरिँदा उद्योग चल्नै नसक्ने अवस्था आउन थाल्यो कि भन्ने चिन्तामा उद्योगीहरू छन्।’

उनले कोरोना महामारीबाट थलिएका उद्योगहरू उठ्ने कोशिश गर्दैगर्दा समस्यामाथि समस्या थपिन थालेको बताए।

‘कोरोनापछि बल्ल बल्ल उठ्दै गर्दा बैंकमा तरलताको समस्या आयो, यससँगै आयात गर्नुपर्ने कच्चा सामानको मूल्यवृद्धि, पेट्रोलियम पदार्थको मूल्यवृद्धिको समस्या झेल्दै थियौं अब विद्युतको समस्या पनि थपिएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी उद्योग चलाउन सकिएला?’

प्याकुरेलका अनुसार मकवानपुरमा ११३ वटा उद्योगहरू सञ्चालनमा छन्। यी मध्ये पूर्णरूपमा सञ्चालनमा आउने उद्योग ९० वटा छन्। ५० वटा उद्योग २४ घन्टा सञ्चालनमा आउने खालका छन्।

उनले बिना जानकारी घन्टौंसम्म विद्युत् लाइन काटिँदा यी सबै उद्योगहरू धरासयी हुने अवस्था आएको बताए।

‘किन विद्युत् काटिँदैछ भन्ने विषयमा विद्युत प्राधिकरणले हामीलाई चित्त बुझ्दो जवाफसम्म दिएको छैन,’ उनी भन्छन्, ‘देशले उद्योगहरूलाई कत्तिको प्राथमिकतामा राखेको रहेछ यसबाट छर्लंग हुन्छ।’

उनले बिरोधका स्वर नसुनिने ठाउँ खोजेर विद्युत कटौती गर्ने काम प्राधिकरणले गरिरहेको गुनासो गरे।हेटौंडा औद्योगिक क्षेत्रका प्रबन्धक राजेन्द्र कँडेलका अनुसार रातको दैनिक १२ घन्टासम्म विद्युत कटौती गर्दा कुल क्षमताको ५० प्रतिशत कम उत्पादन हुन्छ। मकवानपुर जिल्लाभरबाट वार्षिक एक अर्ब रुपैयाँ भन्दा बढी र औद्योगिक क्षेत्रबाटमात्रै वार्षिक ४० देखि ५० अर्ब रुपैयाँका सामान उत्पादन हुने गरेको बताए। जिल्लाले २० अर्ब र औद्योगिक क्षेत्रले १० अर्ब रुपैयाँ वार्षिक सरकारलाई बुझाउने गर्छन्।

सबै उद्योगसँग जेनेरेटर नहुने र भएकालाई पनि महँगो डिजेल प्रयोग गर्दा घाटा लाग्ने भएकाले प्रयोग गर्न नसक्ने अवस्था रहेको चौबीसै घन्टा सञ्चालन हुँदै आएको भ्याली प्यालेट फिड हेटौंडा सुरेन्द्र प्रधानले बताए।

‘लामो समय विद्युत् कटौती हुँदाको उद्योगहरूले ठूलो घाटा व्यहोर्नुपर्छ। सरकार यस विषयमा गम्भीर बन्नुपर्छ भन्ने हाम्रो माग हो,’ प्रधान भन्छन्, ‘विद्युत् कटौतीको समय हरेक दिन बढिरहेको छ। हिजो १४ घन्टा काटियो, आज कति घन्टा काटिने थाहा छैन। अवस्था भयावह हुने भयो।’

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले नियमित विद्युत् कटौती गर्नेभए विद्युत् प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गर्नुपर्ने बताए।

‘लोडसेडिङको तालिका पायौं भने त हामी त्यही तालिकाअनुसार व्यवस्थापन गरेर उद्योग चलाउँथ्यौं तर मनलाग्दी विद्युत् लाइन काटिँदा व्यवस्थापन गर्नै गाह्रो भयो,’ कँडेलले भने। उनले चितवनका करिब ३ सय साना, ठूला उद्योगहरू विद्युत् कटौतीको मारमा परेको बताए।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले विद्युत् कटौतीको समस्या बाध्यात्मक भएको बताए।

प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुखसमेत रहेका भट्टराईले भारतबाट महँगो मूल्यमा विद्युत् आयात गर्नुपर्दा अपुग भएर कटौती गर्न बाध्य भएको बताए।

‘हामीले जनताको घर र व्यापार व्यवसायमा कतै पनि विद्युत् कटौती गरेका छैनौं तर उद्योगहरूले केही समय धैर्य गरिदिनुपर्‍यो,’ उनले भने, ‘अहिलेको अवस्थामा केही घन्टा विद्युत कटौती गर्नु बाध्यता नै हो।’

उनले रूस र युक्रेनबीचको युद्धको प्रभाव भारत हुँदै नेपालसम्म परेको बताए। भारतले विद्युत् मात्रै नभएर विद्युतका लागि आवश्यक सामग्रीहरू पनि दिन छाडेका कारण व्यवस्थापन गर्न कठिनाइ भएको भट्टराईले बताए।‘अवस्था यस्तै रहयो भने नेपालको विद्युत उत्पादन नबढ्दासम्म लाइन काटिराख्न सक्छ,’ उनले भने, ‘निकै महँगोमा पनि विद्युत् किनेर सप्लाई गरिरहेका छौं। २२ लाख ग्राहकको लाइन काटिँदैन। उद्योगहरूले १२-१५ घन्टा विद्युत् पाउँछन्, त्यही समयमा व्यवस्थापन गर्नुपर्ने हुन्छ। कम्प्रमाइज गर्नुपर्छ।’

यसमा तपाइको मत

Your email address will not be published.


*