चुनाबको मुखमा चीन र भारत एकैपटक नेपालमा सक्रिय

हेटौंडा खबर
१६ चैत्र २०७८, बुधबार १३:०७

घोषणा भइसकेको स्थानीय निर्वाचन र छिट्टै घोषणा हुन लागेको प्रदेश तथा संघीय निर्वाचनको पूर्वसन्ध्यामा नेपालमा दुई छिमेकी शक्तिहरु चीन र भारत एकैपटक सक्रिय भएका छन्।

केही दिनअघि चिनियाँ विदेशमन्त्री बाङ यी नेपाल भ्रमण गरेर फर्किएका छन्। उनले यो भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटे।

चिनियाँ विदेशमन्त्री फर्किएसँगै भारतले प्रधानमन्त्री देउवालाई बोलाएको छ। देउवा यही चैत १८ गते भारत जाँदैछन्। नेपालका दलहरुबीच निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णायक छलफल हुँदै गरेको अवस्थामा दुवै छिमेकीको बढ्दो चासोले प्रस्ट पारिसकेको छ-उनीहरु निर्वाचन परिणाम आफू अनुकूल आओस् र नेपालमा आफू अनुकूल सरकार बनोस् भन्ने चाहन्छन्। चीन नेपालमा कम्युनिस्ट सरकार बनोस् भन्ने चाहन्छ।

अर्कोतिर भारत भने नेपालमा कुनै पनि दल वा गठबन्धनको स्पष्ट बहुमत नआओस् र यहाँ निर्वाचनपछि मात्रै गठबन्धन बनेर सरकार बनोस् भन्ने चाहन्छ। नेपालमा निर्वाचनका बेला यी छिमेकीको सक्रियता बढेको यो पहिलो पटक भने होइन।यसअघिका निर्वाचनमा पनि दुवै छिमेकीले यस्ता सक्रियता देखाउने गरेका छन्। नेपालमा भारतको सक्रियता दशकौं अघिदेखिको हो। यद्यपि चीनको सक्रियता भने पछिल्ला केही वर्षयता बढेको हो।

पछिल्लो समय चीनले नेपालमा सक्रियता बढाएसँगै ऊ आफ्नो चाहनामा सफल पनि भएको छ। २०७४ को संघीय र प्रादेशिक निर्वाचनमा चीनकै चाहनाअनुसार बाम गठबन्धन बनेको थियो र गठबन्धनका पार्टीबीच एकता भएर नेकपा बनेको थियो।

नेपालमा चीनको चाहनाअनुसार नेकपा बनेर एउटै दलको स्पष्ट बहुमतको सरकार बनेको थियो। तर, नेपालमा स्थिर सरकार बनेको भारतलाई मन पर्दैन। भारतले नेपालमा अस्थिर सरकार बनाउने र त्यो सरकारले आफू प्रतिकूल काम गर्न खोजेमा सरकार ढलाइदिने गरेको छ।यही रणनीतिअनुसार भारतले नेकपाको स्पष्ट बहुमतको सरकार समेत ढलाइदिएको थियो। र, अहिले पनि भारत नेपालमा एउटै दल वा गठबन्धनको बहुमत आएर सरकार बनोस् भन्ने चाहँदैन।

भारतले पछिल्लो समय नेपालमा दलहरुबीच गठबन्धन हुन नदिन सक्रिय भूमिका खेलिरहेको छ। उसले विभिन्न एजेन्सीमार्फत नेपालका प्रत्येक दलहरुसँग फरक फरक डिल गरिरहेको छ।

भारतको मुख्य चाहना नेपालमा चिनियाँ प्रभाव कम गर्ने हो। यसको लागि नेपालमा बामपन्थी दलहरुलाई कमजोर पार्नुपर्छ भन्ने भारतको प्रस्ट बुझाइ छ। नेपालमा बामपन्थीको अवस्था कमजोर गराउन अहिले बामपन्थीहरु विभाजित भएको अवस्थामा उनीहरुलाई एक्ला एक्लै चुनाबमा पठाउनुपर्छ भन्ने भारतको बुझाइ छ।

नेपालमा कुनै पनि दलको बहुमत ल्याउन नदिने आफ्नो चाहना पूरा गर्न नेपालका दलहरु एक्ला एक्लै चुनाब लडुन् भन्ने चाहना भारतको छ। भारतको चाहना भनेको ओलीले पनि धेरै मत नल्याउन् र देउवाले पनि नल्याउन् भन्ने छ।

एमाले र कांग्रेस कसैले पनि स्पष्ट बहुमत ल्याउन नसकेको अवस्थामा सरकार बनाउन तेस्रो दलको बैशाखी चाहिने अवस्था ल्याउन भारत चाहन्छ। त्यो तेस्रो दल मधेश केन्द्रित दल बनोस् र त्यसमार्फत नेपालको सरकारमा आफ्नो प्रभाव कायम राख्न सकियोस् भन्ने भारत चाहन्छ।

प्रधानमन्त्री देउवाको अहिलेको भ्रमणमा भारतले देउवालाई चुनाबी गठबन्धन नगर्न दबाब दिने सम्भावना उच्च छ। कांग्रेसले हालै महानगरको हकमा केन्द्रले निर्णय गर्न सक्ने र अन्य स्थानीय तहमा आवश्यकता अनुसार स्थानीय तहले नै गठबन्धनबारे गर्न सक्ने निर्णय गरेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुनै हालतमा गठबन्धन गर्ने प्रयासमा छन्। तर, भारतलाई पटक पटक धोका दिएको हुनाले प्रचडप्रतिको भारतको असन्तुष्टि भने चर्को छ। यस्तोमा देउवालाई प्रचण्डसँग गठबन्धन नगर्न भारतले दबाब दिनेछ।

यसमा तपाइको मत

Your email address will not be published.


*