विश्व बजारमा अमेरिका र अमेरिकी डलरको दबदबा अन्त्य हुने संकेत

हेटौंडा खबर
१६ चैत्र २०७८, बुधबार १६:२८

अहिले विश्व बजारमा अमेरिका र अमेरिकी डलरको दबदबा छ । विश्वकै सबैभन्दा धेरै तरलता भएको मुद्रा डलर भएको र अधिकांश देशहरुले डलरमै व्यापार गर्ने गरेका कारण डलरको दबदबा भएको हो । तर, पछिल्लो समय विश्व बजारमा डलरको दबदबा अन्त्य हुने क्रमको सुरुवात भएको संकेत देखिएको छ ।

रुसी विदेशमन्त्री सर्गेइ लावरोभ यसै हप्ता भारत आउँदैछन् । समाचार एजेन्सी रोयटर्सका अनुसार लावरोभको यो भ्रमणमा दुई देशबीच भुक्तानीको विषयमा चर्चा हुने अपेक्षा गरिएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि यो लावरोभको तेस्रो विदेश भ्रमण हो । यसअघि उनी टर्की र बिहीबार चीन गइसकेका छन् । सूत्रका अनुसार भारत सरकारले भारतीय रुपैयाँ र रुसी रुबलमा व्यापार प्रणाली स्थापित गर्ने तयारी गरेको छ र यो विषयमा लावरोभको भ्रमणमा थप प्रगति हुन सक्छ ।

यो भ्रमणमा रुपैयाँ रुबल ट्रेड विन्डोका अलावा दुवै देशबीच केन्द्रीय बैंकको माध्यमबाट सबै सरकारी र अर्ध सरकारी भुक्तानी सिधै गर्ने र कार्ड लगायतका विकल्पबारे पनि चर्चा हुने अपेक्षा छ । रुस र भारतले यसरी व्यापार प्रणाली स्थापित गरेमा यो डलरको दबदबा अन्त्य गर्नको लागि प्रमुख घटना हुन सक्छ किनकि यसपछि भारत र रुसले आफ्नै मुद्रामा व्यापार गर्नेछन् र डलरको प्रयोग घट्नेछ ।

अर्कोतर्फ केही दिन पहिले अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले साउदी अरबले चीनसँग तेल बिक्रीको बदलामा युआनमा भुक्तानी लिने विषयमा विचार गरिरहेको समाचार प्रकाशित गरेको थियो । यो समाचारले पेट्रोडलरको समयको अन्त्यको सुरुवात भएको चर्चा चलेको थियो । १९७० को दशकमा पेट्रोडलर शब्द प्रचलनमा आएको थियो र यसको साथमा विश्वको व्यापार र अन्तर्राष्ट्रिय लेनदेनमा डलरको स्थिति बलियो भएको थियो ।

विश्वव्यापी तेल संकटको केही समयपछि १९७४ मा साउदी अरबको सरकारले तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनसँग एउटा सम्झौता गरेको थियो । यो सम्झौतामा साउदी अरेबियाको निर्यात डलरमा हुने सहमति भएको थियो । साउदीको यो कदमपछि कैयौं देश साउदीको बाटोमा गए र तेलको मूल्य डलरमा निर्धारण हुन थाल्यो । यही कारण तेल किन्नको लागि विश्वभरीका देशहरुले डलर जम्मा गरेर राख्न थाले । तर, पछिल्लो समय साउदीले चीनसँग युआनमा भुक्तानी लिने खबर बाहिरिएसँगै डलरको दबदबा अन्त्य हुन सक्ने अनुमान गरिएको छ ।

२०२० को तथ्यांकअनुसार अहिले चीन दैनिक १ करोड १० लाख ब्यारल कच्चा तेल आयात गर्छ । यसमध्ये १७ लाख ब्यारल साउदीबाट आयात गर्छ । यो चीनको तेल आयातको लगभग १७ प्रतिशत र साउदीको कूल तेल निर्यातको २६ प्रतिशत हो । चीनले रुसबाट पनि प्रतिदिन १५ लाख ब्यारल तेल आयात गर्छ । चीन अहिले विश्वमै ऊर्जाको प्रमुख उपभोक्ता हो । तेल बजारमा चीन मात्र नभइ भारत, जापान र दक्षिण कोरियाजस्ता एसियाली देश ठूला उपभोक्ता हुन् । यो वास्तविकताले ग्लोबल मार्केटको ढाँचा नै बदलिदिएको छ ।

यही वास्तविकताका कारण साउदी अरब, रुस र तेल निर्यात गर्ने अन्य देश समेत चीन र अन्य एसियाली देशसँग रणनीतिक सम्बन्ध बनाउन चाहन्छन् । यो भनेको अमेरिका वा अमेरिकी डलर बिनाको सम्बन्ध बन्न सक्छ । यसको लागि तेल निर्यातक देश चीन, भारत, दक्षिण कोरिया र जापानमा रिफाइनरी बनाउन चाहन्छन् । साउदी कम्पनी अरामकोले हालै चीनमा पेट्रोकेमिकल कम्प्लेक्स र रिफाइनरी बनाउन साझेदारी सम्झौता गरेको छ ।

साउदीले तेलको भुक्तानी युआनमा लिन तयार भएको विषयमा उर्जा विज्ञ रफीक लाट्टा भन्छन् ‘यो कुरा अहिले आएको छ र यसले साउदी अरब र अमेरिकाबीचको तनावलाई देखाउँछ ।’ खासमा पछिल्लो समय अमेरिका र साउदी अरबबीच सम्बन्ध राम्रो छैन । अमेरिकाको सम्बनध अर्को प्रमुख तेल उत्पादक देश युएइसँग पनि राम्रो छैन । अमेरिकाले पटक पटक आग्रह गर्दा पनि यी दुई देशले तेल उत्पादन बढाउन मानिरहेका छैनन् ।कैयौं जानकारहरुका अनुसार यदि साउदी अरबबाट चीनले किनेको तेलको भुक्तानी युआनमा गरियो भने यो व्यवस्थापन साउदी अरब र चीन दुवैको लागि बीमाजस्तै हुनेछ ।

यसबाट यदि भविष्यमा कुनै प्रतिबन्धका कारण डलरमा तेल कारोबार गर्न रोक लाग्यो भने युआन राम्रो विकल्प हुन सक्छ । साउदीले युआनमा भुक्तानी लिन थालेमा अरु देशले पनि यही बाटो समाउन सक्छन् । एकातिर रुस र भारत, अर्कोतिर साउदी र चीनको यो व्यापारले अमेरिकी डलरको आवश्यकतालाई ह्वात्तै घटाइदिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*