गठबन्धनभन्दा बाहिर चुनावी तालमेलको ढोका बन्द

हेटौंडा खबर
१७ चैत्र २०७८, बिहीबार १४:१७

सत्ता गठबन्धनमा आवद्व दलहरूले तत्काललाई गठबन्धन दलहरूबीचमै मात्रै चुनावी गठबन्धन गर्ने समझदारी गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरूले गठबन्धनका विभिन्न मोडेलहरूमाथि छलफल गरेका थिए । त्यसक्रममा गठबनधन दलहरूबीचकै चुनावी तालमेललाई प्राथमिकतामा राख्ने सहमति बनेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले स्थानीय चुनावमा गठबन्धनमा आबद्व दलहरूबीचमा मात्रै चुनावी तालमेल गर्ने समझदारी भएको बताए ।

गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा तत्काल संयन्त्र गठन गर्ने निर्णय गर्दै ती संयन्त्रहरूलाई स्थानीय अवस्था र आवश्यकताको विषयमा छलफल गरी पाँच दिनभित्र केन्द्रलाई प्रतिवेदन पठाउन निर्देशन गरेको छ ।

‘अहिले देशभर गठबन्धनले मात्रै होइन, एमालेले पनि गठबन्धन दलहरूसँग चुनावी तालमेलको अभ्यास गर्न खोजिरहेको छ । कतिपय ठाउँमा कांग्रेसले पनि एमालेसँग गठबन्धन गर्ने भनेर छलफल गरिरहेको छ,’ बैठकमा सहभागी एक नेताले ईकान्तिपुरसँग भने, ‘गठबन्धनको आजको बैठकले तत्काललाई गठबन्धन दलहरूले एमाले वा अर्को दलसँग गठबन्धन गर्ने बाटो बन्द गरिदिएको छ ।’

बैठकमा गठबन्धनभन्दा बाहिरका दलसँग तालमेल गर्ने वा नगर्ने भन्नेबारे लामो छलफल भएको थियो । छलफलले तत्काल स्थानीय तहमा पाँच दलको चुनावी तालमेल हुँदाको अवस्था के हुने भनेर विस्तृतमा अध्ययन गर्ने र त्यसपछि मात्रै गठबन्धनको विषयमा निचोडमा पुग्ने सहमति जुटाएको छ ।‘चुनावी तालमेलको पहिलो प्राथमिकतामा सत्ता गठबन्धनलाई राखिएको छ, गठबन्धन दलले अर्को दलसँग तालमेल गर्न नपाइने र त्यसको छलफल समेत गर्न नपाइने सहमति भएको छ,’ ती नेताले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*