राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा गायनतर्फ राज सागर प्रथम

हेटौंडा खबर
१७ चैत्र २०७८, बिहीबार १४:५२

राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगितामा गायनतर्फ भोजपुरका राजकुमार सुन्दास (राज सागर) प्रथम भएका छन् ।

रेडियो नेपाल प्रसार सेवा विकास समिति रेडियो नेपालको ७२ औं वार्षिक उत्सवको अवसरमा रेडियो नेपाल परिसर सिंहदरबारमा आयोजित प्रतियोगितामा लक्ष्मी बिक र सन्देश पौड्याल द्वितीय तथा ममता गुरुङ तृतीय भएका छन् ।रमेश सुवेदी उत्कृष्ट सङ्गीतकार र महेश पौडेल उत्कृष्ट गीतकार घोषणा भएका छन् ।

यसैगरी २६ जना प्रतियोगीमध्ये निर्मल दियाली, उत्तम बहादुर थापा, मधु विश्वकर्मा, कपिल सुनुवार, अम्बिका राई, अविशेक बराइली विश्वकर्मा, मेनुका आचार्य, करुणा गन्धर्व, सरोज परियार र उपेन्द्र लिम्बु उत्कृष्ट १० मा परेका छन् ।

राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगिताको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष डा। वैकुण्ठ अर्यालले गीत सङ्गीतको प्रवर्द्धनमा रेडियो नेपालले महत्त्वपूर्ण भूमिका रहेको बताए ।

सचिव अर्यालले गीत सङ्गीतका क्षेत्रमा कलाकारलाई रेडियो नेपालले नै चिनाएको स्मरण गराउँदै यसको प्रवर्द्धन गर्न महत्त्वपूर्ण प्लेटफर्म उपलब्ध गराउँदै आएको समेत स्पष्ट पारे ।उनले रेडियो नेपालले २०२२ सालदेखि कुनै कुनै रुपमा गीत सङ्गीत प्रतियोगिता गर्दै गीत सङ्गीतलाई प्रवर्द्धन गर्न पहल गर्दै आएको बताए ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालले आफ्नो प्रसारणलाई समावेशी बनाउँदै रेडियो नेपाल गीत सङ्गीतको पर्यायवाची र उद्गम थलोका रुपमा रहेको बताए ।उनले गीत सङ्गीत बिनाको प्रसारण कल्पना पनि गर्न नसकिने भन्दै रेडियो नेपालले गीत सङ्गीत प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

कार्यकारी निर्देशक केसीले रेडियो नेपालले तीन वटा प्रसारण केन्द्रसहित ७ वटै प्रदेश प्रसारण, २६ वटा एफ।एम रिले स्टेसन र अनलाइन सेवामार्फत प्रसारण पहुँच पुर्‍याइरहेको बताए ।केसीले रेडियो नेपालले हाल २१ भाषामा समाचार र २० भाषामा कार्यक्रम प्रसार गर्दै आएको समेत जानकारी दिए ।

रेडियो नेपालले वार्षिक उत्सवको पूर्व सन्ध्यामा हरेक वर्ष आधुनिक गीत प्रतियोगिताको आयोजना गर्दै आएको छ । यस वर्षको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा ६ वटा प्रदेशका २६ जना कलाकारको सहभागिता रहेको छ ।

विसं २००७ साल चैत्र २० गते विधिवत् रुपमा स्थापना भएको रेडियो नेपालले यही चैत २० गते ७२ औँ स्थापना दिवस मनाउँदै छ ।

मुलुककै अग्रणी सञ्चार माध्यमको रुपमा रहेको रेडियो नेपाल विकास समिति ऐन २०१३ अनुसार सरकारी सञ्चार माध्यमका रुपमा सञ्चालन हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*