बागमतीको पुँजीगत खर्च १७ प्रतिशत मात्रै

हेटौंडा खबर
१८ चैत्र २०७८, शुक्रबार १२:२४

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको आठ महिनामा जम्मा १७ दशमलव ४० प्रतिशत पुँजीगत खर्च गरेको छ।  गत साउनदेखि चैत पहिलो सातासमम्म प्रदेश सरकारले पँुजीगततर्फ जम्मा पाँच अर्ब ५९ करोड ३३ लाख रुपैयाँ खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ।

यस अवधिमा प्रदेश सरकारको कुल बजेटको २५ दशमलव ६० प्रतिशत अर्थात् १४ अर्ब ७६ करोड २४ लाख रुपैयाँ खर्च भएको छ। उक्त बजेटमध्ये चालुतर्फ ३४ दशमलव ७४ प्रतिशत अर्थात् आठ अर्ब १६ करोड ९१ लाख रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले बताए। चालु आर्थिक वर्षको कुल ५७ अर्ब ७२ करोड नौं लाख रुपैयाँ बजेटमध्ये  २६ अर्ब एक करोड ६६ लाख  रुपैयाँ चालु बजेट रहेको छ। पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख चार हजार रुपैयाँ रहेको छ।
प्रदेश सरकारले वित्तीय व्यवस्थापनका लागि छुट्याएको दुई अर्ब रुपैयाँमध्ये एक अर्ब रुपैयाँ खर्च गरिसकेको छ। कुल बजेटको चार प्रतिशत वित्तीय व्यवस्थापनका लागि छुट्याइएको थियो। प्रदेश सरकारका पुराना छ मन्त्रालयमध्ये सबैभन्दा कम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कुल बजेटको सात दशमलव आठ प्रतिशत अर्थात ६ करोड ७७ लाख रुपैयाँ खर्च गरेको छ।

त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ५७ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ। यो रकम मन्त्रालयको कुल बजेटको १५ प्रतिशत हो। वन तथा वातावरण मन्त्रालयले कुल बजेटको १९ प्रतिशत अर्थात् ८४ करोड पाँच लाख रुपैयाँ खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रण कर्यालयको तथ्याङ्क छ। सामाजिक विकास मन्त्रालयले कुल बजेटको २२ प्रतिशत अर्थात् दुई अर्ब १५ करोड रुपैयाँ खर्च गरेको छ।

यो अवधिमा सबैभन्दा धेरै बजेट रहेको भौतिक पुर्वाधार विकास मन्त्रालयले चार अर्ब ९३ करोड रुपैयाँ खर्च गरेको छ। यो रकम कुल बजेटको २२ प्रतिशत हो। आर्थिक मामिला मन्त्रालयले कुल बजेटको ६५ प्रतिशत खर्च गरेको छ।
नयाँ बनेका मन्त्रालयहरूको खर्च हिसाव पुरानै मन्त्रालय मार्फत राखिएको प्रदेश लेखा नियन्त्रक उपाध्यायले बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*