रुसी विदेशमन्त्री सर्गेई लाभरोभ भारतमा

हेटौंडा खबर
१८ चैत्र २०७८, शुक्रबार १४:३५

रुसले युक्रेनमा आक्रमण जारी राखेका बेला रुसी विदेशमन्त्री सर्गेई लाभरोभ भारतको दुईदिने औपचारिक भ्रमणमा नयाँ दिल्ली पुगेका छन् । लाभरोफ भारत आउनुअघि चीनको भ्रमणमा थिए जहाँ उनले बुधबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेका थिए ।

लाभरोभले आफ्नो भ्रमणका क्रममा मस्कोमाथि लगाइएको प्रतिबन्धको असरलाई कम गर्न र भारतसँगको व्यापारिक सम्बन्धलाई अगाडि बढाउन वार्ता गर्ने विश्वास गरिएको छ।

लाभरोभको भारत भ्रमणका क्रममा सहुलियतमा रुसी कच्चा तेल खरिद गर्ने विषयमा पनि वार्ता हुने अपेक्षा गरिएको छ । यससँगै मस्कोविरुद्ध पश्चिमी प्रतिबन्धलाई ध्यानमा राख्दै द्विपक्षीय व्यापारका लागि रुपैयाँ–रुबल भुक्तानी प्रणाली स्थापना गर्ने विषयमा पनि वार्ता हुन सक्नेछ । भर्खरै भारतले ३० लाख ब्यारेल रुसी तेल भारी सहुलियतमा आयात गर्न सहमत भएको छ ।

त्यस्तै भारतले रुसबाट किनेका मिसाइल प्रणालीका विभिन्न सैन्य हार्डवेयर र उपकरण समयमै उपलब्ध गराउने विषयमा पनि दुई देशबीच वार्ता हुन सक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

लाभरोभले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. जयशंकरलाई भेटेर साँझ मस्को प्रस्थान गर्नेछन् ।

रुसको युक्रेन आक्रमणमा भारत तटस्थ रहेको बेला रसियन विदेशमन्त्रीको यो भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*