कमिशन बढाउने खेलोमा रोकियो पेट्रोलियम पदार्थको ढुवानी

हेटौंडा खबर
१८ चैत्र २०७८, शुक्रबार १५:२४

कमिशन र ढुवानी भाडा बढाउन माग गर्दै ढुवानी व्यवसायीले शुक्रवारबाट पेट्रोलियम पदार्थको आपूर्ति रोकेका छन् । पेट्रोलियम पदार्थको ढुवानी रोक्ने र डिलरहरूले पनि आयल निगमबाट पेट्रोलियम पदार्थ नउठाउने भएपछि महँगो तिर्दा पनि उपभोक्ताले इन्धन नपाउने अवस्था सिर्जना हुने भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढेर आइरहेको र आयल निगमलाई घाटा बढेर आपूर्तिको व्यवस्था मिलाउन आयल निगमलाई हम्मेहम्मे परिरहेको छ । यही समयमा पेट्रोलियम डिलर्स तथा ढुवानी व्यवसायीले आफूअनुकूलको लाभ मात्रै खोज्दा महँगो मूल्यमा पनि उपभोक्ताले इन्धन खरिद गर्न नपाउने अवस्था सिर्जना भएको हो ।

यो बेला जनताप्रति उत्तरदायी हुनुपर्ने भए पनि व्यवसायीहरू आन्दोलनमा जानु र निगमसँग भण्डार क्षमता कम हुनुले पनि आपूर्तिमा तत्कालै समस्या आउने आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् ।

उनका अनुसार व्यवसायीको माग सम्बोधन गर्ने विषयमा आयल निगमले ७ चैतमा पत्राचार गरेर जेठसम्म पर्खन भनेको छ ।तर, ग्यास उद्योग संघ, ढुवानी व्यवसायी संघ र पेट्रोलियम डिलर्स एशोसिएसनका व्यवसायीले भने आफूले सुविधा नपाई जनतालाई किन सुविधा दिने भन्ने नियत राखेको देखिएको निगमका एक अधिकारीले बताए । ढुवानी बन्दले जनताले दुःख मात्रै पाउने अवस्था सिर्जना भएको छ ।

उद्योग मन्त्रालयले २९ चैतमा उनीहरूको राखेको मागको विषयमा सहसचिवस्तरीय एक अध्ययन समिति गठनसमेत गरेको छ ।त्यो समितिले व्यवसायीले राखेको मागको सम्बन्धमा अध्ययन गरेर रिपोर्ट दिनेसहितको कार्यगत शर्त छ ।

वैशाखमा चुनाव भएको र अध्ययन गर्न पनि समय चाहिने भएकोले निगमले जेठ मसान्तसम्मको समय मागेको भए पनि व्यवसायी अहिले नै माग पूरा गराउनुपर्ने भन्दै दबाब दिन थालेका छन् । अध्ययन गरेर त्यो भन्दा अगाडि नै टुंगो लगाउन निगम प्रतिबद्ध रहेको भए पनि ढुवानी व्यवसायी र डिलरहरूको धैर्यता नदेखिएको निगमका अधिकारीहरूको भनाइ छ ।

निगमका प्रवक्ता उपाध्यायले भने ‘अहिलेको ढुवानी व्यवसायीले ढुवानी भाडा बढाउनुपर्यो भनेका छन् । ग्यासवालाहरूले र डिलर एशोसिएसनले पनि कमिशन बढाउन माग गरेका छन् ।’ट्यांकरले पेट्रोलियम पदार्थको लोड–अनलोड बन्द गर्ने निर्णय र पेट्रोलियम पदार्थ नउठाउने भनेपछि आमउपभोक्तामा भने अभावको त्रासले लाइन लाग्ने क्रम बढाउन सक्छ ।

हाल पेट्रोलियम डिलर्सको कमिशन बिक्री मूल्यको प्रतिलिटर ३.३९५ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत रहेको छ ।

यो कमिशन हाललाई नबढाउने भनेर ७ चैतको आयल निगम सञ्चालक समितिले निर्णय गरेको छ । त्यो निर्णयविरुद्ध व्यवसायीहरू आन्दोलित भएका हुन् । पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले सरकारसँग एक महिनाअघि नै पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउनुपर्ने माग राखेको बताए । तर, आफूहरूको मागलाई बेवास्ता गरिएकाले बाध्य भएर आपूर्ति रोक्ने निर्णय गर्नुपरेको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*