प्रधानमन्त्री देउवा वाराणसीमा व्यस्त

हेटौंडा खबर
२० चैत्र २०७८, आईतवार १४:१३

भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज उत्तर प्रदेशको सहर वाराणसी पुगेका छन्। शुक्रबार नयाँ दिल्ली उत्रिएका देउवा शनिबार उच्चस्तरीय भेटघाट सकेर आज वाराणसी पुगेका हुन्।

त्यसअघि प्रधानमन्त्री देउवालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा भारतको बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए।

धार्मिक नगरी वाराणसीमा देउवाले पत्नी आरजु राणासहित काशी विश्वनाथ मन्दिरमा पूजाआजा गरे। त्यसक्रममा भ्रमण टोलीमा रहेका मन्त्रीहरुले पनि उनलाई साथ दिएका थिए। वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत उच्च अधिकारीहरूले स्वागत गरेका थिए।

प्रधानमन्त्री देउवाले वाराणसीकै समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पनि पूजाअर्चना गरे। देउवाले  ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास पनि गरेका छन्।

भारतीय मिडिया नवभारत टाइम्सका अनुसार प्रधानमन्त्री देउवाले २३८ वर्षपछि इतिहास दोहोर्याएका छन्। यति लामो समयपछि वाराणसी पुगेर नेपाली शासकको तर्फबाट लोकार्पण वा शिलान्यास कार्यक्रम राखिएको हो।

यसअघि १७८४ सालमा नेपालका तत्कालीन राजा रणबहादुर शाहले काठमाडौंको पशुपतिनाथको मन्दिरजस्तै नेपाली मन्दिर र धर्मशालाको शिलान्यास गरेका थिए वाराणसीमा। यो मन्दिर १७८७ मा बनेर तयार भएको थियो। त्यसको उद्घाटनमा पनि उनी गएका थिए।

त्यसैगरी अन्तिमपटक यस्तो कार्यक्रम २ सय ३५ वर्षअघि भएको र देउवाले अहिले लामो समयपछि इतिहास दोहोर्याएको नवभारत टाइम्सले उल्लेख गरेको छ। प्रधानमन्त्री देउवा आज अपराह्न वाराणसीबाट नयाँ दिल्ली फर्किने र विमानस्थलबाट सिधै काठमाडौं उड्ने कार्यतालिका छ।

यसमा तपाइको मत

Your email address will not be published.


*