व्यवसायीपछि इन्धन ढुवानीमा ट्याङ्कर चालकको अवरोध, अझै पम्पहरुमा आएन इन्धन

हेटौंडा खबर
२० चैत्र २०७८, आईतवार १५:१८

राजधानीका सरकारी पेट्रोल पम्पले मात्रै तेल बिक्री गरेपछि आइतबार सर्वसाधारणको लामो लाइन लागेको छ । हिजो मात्रै आयल निगमसँगको वार्तामा पेट्रोलियम व्यवसायीहरुले डिपोबाट तेल उठाउने र आजबाट बिक्री वितरण गर्ने सहमति गरेका थिए ।

व्यवसायीहरु तेल उठाउन सहमति भए पनि आइतबार ट्याङ्कर चालकहरुले आफ्ना मागहरु अगाडि सार्दै ढुवानी अवरोध गरेपछि डिपोबाट पम्पहरुमा तेल आउन सकेको छैन । थानकोट डिपो क्षेत्रमा चालकहरुसँग अहिले वार्ता चलिरहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

‘चालकहरुले केही माग राख्नुभएको छ, त्यसकारण डिपोबाट उहाँहरुले तेल उठाउनुभएको छैन, हामी वार्ताकै क्रममा छौं,’ उनले भने । साझा, प्रहरी र सेनाका पम्पहरुमा भने तेल ढुवानी भएको छ ।

ट्यांकर चालकहरुले केही सेवा सुविधा माग गरेको उनले बताए । यसअघि पेट्रोलियम व्यवसायीले मूल्य वृद्धिअनुसार कमिसन बढाउनुपर्ने माग गर्दै शुक्रबार डिपोबाट तेल उठाएनन् । शनिबार सार्वजनिक बिदा पर्‍यो । शनिबार साँझ मात्रै व्यवसायीले आज आइतबारबाटै तेल उठाउनेगरी निगमसँग सहमति गरेका थिए । तर चालकको अबरोधले फेरि तेल सहज हुन केही समय लम्बिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*