सुस्ताउँदै सेयर बजार : नेप्से २५०० नजिक, कारोबार रकम डेढ अर्बबाट तल

हेटौंडा खबर
२० चैत्र २०७८, आईतवार १५:३८

साताको पहिलो कारोबार दिन आइबार सेयर बजार परिसूचक नेप्से १.२१ प्रतिशतले घटेर बन्द भएको छ । आइतबार बजार परिसूचक नेप्सेमा ३०.८९ अंकले गिरावट हुँदा २५१३.४१ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा म्युचुअल फन्ड उपसूचक भने स्थिर रह्यो । बजार परिसूचक ओरालो लाग्दै जाँदा कारोबार रकम पनि सुस्ताउँदै गएको छ ।  आइतबार बजारमा कारोबार रकम डेढ अर्बबाट पनि तल झरेको छ । आज दिनभर बजारमा एक अर्ब ४६ करोडको कारोबार भयो ।

बाह्य क्षेत्रमा बढ्दो दबाबले कमजोर बन्दै गरेको अर्थतन्त्र, बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको चरम अभाव र बढ्दो ब्याजदरले गर्दा लगानीकर्ता सेयर बजारमा सक्रिय हुन सकेको छैनन् । जसले गर्दा बजार परिसूचकसँगै कारोबार रकम पनि लगातार ओरालो लागेको छ । आज बजारमा कारोबार भएका मध्ये सूर्या लाइफ इन्स्योरेन्सको सर्वाधिक साढे नौ करोडमाथिको कारोबार हुँदा सिद्धार्थ इन्स्योरेन्सको पाँच करोड र नबिल बैंकको चार करोडको सेयर कारोबार भएको छ ।

आज दिनभर बजारमा कुल १९५ कम्पनीको सेयर कारोबारमा आएकामा १७२ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने १९ कम्पनीको सेयर मूल्य गिरावट हुँदा चार कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार भएका मध्ये  राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र नेष्डो समृद्धि लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा जालपा सामुदायिक लघुवित्तको ४.०१ प्रतिशतले बढेको छ । यी चारवटै कम्पनी हालै मात्रै सार्वजनिक निष्कासन गरेर नेप्सेमा सूचीकृत भएका हुन् ।

युनाइटेड इदी मार्दी एन्ड आरबी कम्पनीको सेयर मूल्य सर्वाधिक ५.०२ प्रतिशतले गिरावट हुँदा सूर्या लाइफको ५.०१ प्रतिशत र सामलिङ पावरको  ४.३५ प्रतिशतले गिरावट भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*