सांसद भइसकेका नेताहरू स्थानीय चुनाव लड्ने तयारीमा

हेटौंडा खबर
२१ चैत्र २०७८, सोमबार १३:३६

आगामी ३० जेठमा हुने स्थानीय तहको निर्वाचनमा केही सांसद तथा पूर्व सांसदले उम्मेदवार बन्ने तयारी गरेका छन्।

स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै आएसँगै चुनावी चहलपहल बढ्न थालेको छ। कतिपय नेताहरू संसद् छोडेर स्थानीय सरकारतिर लाग्ने तयारीमा जुटेका छन्।

प्रदेश १ मा केन्द्र र प्रदेश छोडेर स्थानीय तहमा चुनाव लड्न नेताहरूले जोडबल लगाउन थालेका छन्। कतिपय नेताहरू आफैं त कतिपय स्थानीय कार्यकर्ताको आग्रहमा स्थानीय तहमा निर्वाचन लड्ने भएका छन्।

सुनसरी-१ बाट प्रतिनिधि सभामा निर्वाचित नेकपा (एमाल) का सांसद जयकुमार राई धरान उपमहानगरपालिकाको मेयरमा उम्मेदवार बन्ने तयारीमा जुटेका छन्। धरानको मेयरको उम्मेदवारका रूपमा उनको नाम चर्चामा आएको छ।

“सांसद वा मन्त्रीलाई नगर वा गाउँमा जनप्रतिनिधिमा उठ्न पार्टी विधान, संविधान वा कुनै कानूनले रोक्दैन,” सांसद राईले हिमालखबरसँग भने, “मेरा शुभचिन्तकले पनि मलाई धरानको मेयरमा उठ्न सल्लाह-सुझाव दिइरहेका छन्।”

प्रधानमन्त्री भइसकेका बाबुराम भट्टराई, मन्त्री भइसकेका लालबाबु पण्डित लगायतले मेयरमा उठ्ने इच्छा देखाइरहँदा आफ्नो नाम पनि चर्चामा आउनु स्वाभाविक भएको उनको भनाइ छ। पार्टीले टिकट दिएमा आफू मेयरमा उठ्न तयार रहेको उनले बताए।

“मेरो र शुभचिन्तकको इच्छाले मात्र हुँदैन। पार्टीले निर्देशन दियो भने म यो चुनावमा उठ्छु,” राईले भने।

एमालेकै अर्का सांसद एकराज कार्की पनि प्रदेश सभा छोडेर झापाको विर्तामोड नगरपाकिलाको मेयरमा चुनाव लड्ने तयारीमा छन्। झापा-२ ‘क’ बाट प्रदेश सभामा निर्वाचित सांसद कार्कीले हिमालखबरसँगको कुराकानीमा आफू मेयरमा उठ्न तयार रहेको बताए।

“झापाको विर्तामोड नगरपालिकाको मेयरमा मेरो पनि चर्चा चलेको साँचो हो,” कार्कीले भने, “पार्टीले अवसर दिएमा पछि हट्दिैन।”

प्रदेश सभा छोडेर किन मेयरमा उठ्न चाहन्छन्? सांसद कार्की भन्छन्, “नगरमा जनप्रतिनिधिले धेरै काम गर्न सक्ने अवसर छन्। जनतासँग प्रत्यक्ष जोडिएर विकासका काममा सहभागी हुन पाइने र आफ्नो भिजन अनुसार नगरलाई अगाडि बनाउन सकिने भएकाले पनि मेयरको उमेदवार बन्ने चाहना राखेको हुँ।”

प्रदेश १ कै विराटनगरमा महानगरपालिकामा पनि मेयरका लागि पूर्व मन्त्री तथा सांसदहरूको नाम चर्चामा छ। एमालेबाट पूर्व मन्त्री लालबाबु पण्डित, प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे र जनता समाजवादी पार्टी (जसपा) बाट प्रदेश १ का पूर्व स्वास्थ्य मन्त्री जयराम यादवको नाम चर्चामा छ। उनीहरूले मेयरमा उठ्ने आकांक्षा देखाएको स्थानीय नेताहरू बताउँछन्।

मधेश प्रदेशमा पनि केही सांसदले स्थानीय तहमा चुनाव लड्ने तयारी गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका मेयरमा सांसद परमेश्वर साहले उम्मेदवार बन्ने आकांक्षा देखाएका छन्। धनुषा ३ ‘ख’ बाट प्रदेश सभामा निर्वाचन साहले आफू जनकपुरधामको मेयर बन्न तयार रहेको बताए।

जनता र कार्यकर्ताको आग्रहमा आफू मेयरको उम्मेदवार बन्न तयार भएको बताउँदै साहले भने, “जनतासँग प्रत्यक्ष काम गर्न सक्ने स्थानीय सरकार भएको हुनाले जनताले मलाई मेयरमा चुनाव लड्न भनिरहेका छन्। पार्टीको नेता-कार्यकर्ताको पनि दवाब छ। त्यसकारण मैले लड्ने प्रयत्न गरेको छु।”

पार्टीले टिकट दिने निर्णय गरेमा आफू प्रदेश सभा सदस्यबाट राजीनामा दिन तयार रहेको उनले बताए। “पार्टीले अधिकारिक निर्णय गरेमा राजीनामा दिएर स्थानीय चुनावको तयारीमा लाग्छु,” साहले हिमालखबरसँग भने।

उनी जनकपुरधाममा बलियो उम्मेदवार पनि मानिएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता साहले आफूले सहज जित हासिल गर्ने आकलन रहेको बताए। “जनता र कायर्कर्ताले त दवाव दिइरहेका छन्, पार्टी अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले निर्देशन दिनुभयो भने जनकपुरधाममा राम्रो काम गरेर देखाउनका लागि म उम्मेदवार बन्छु,” उनले भने।

जनकपुरधाममा तत्कालीन राजपा नेपालका उम्मेदवार लालकिशोर साह निर्वाचित भएका थिए। अहिले उनी जसपामा छन्। त्यसैले पनि जनकपुरधाममा जित हासिल गर्न लोसपाका स्थानीय नेताहरू परमेश्वर साहलाई उम्मेदवार बनाउने तयारीमा लागेका छन्।

बागमती प्रदेशमा पनि केही सांसद र पूर्व सांसदले स्थानीय तहमा जाने इच्छा जनाएका छन्। मकवानपुरको हेटौंडा उपमहानगरपालिका मेयरका लागि अहिलेसम्म एमालेबाट चार, नेपाली कांग्रेसबाट पाँच र अन्य दलबाट चार जनाको नाम चर्चामा छ। उनीहरूमा पूर्व सांसद, पूर्व मेयर भएका नेताहरू छन्।

चर्चामा रहेका नामहरूमध्ये संविधान सभा सदस्य अनन्त पौडेलले मेयरका लागि तयारीमा जुटेका छन्। उनले हिमालखबरसँगको कुराकानीमा आफू हेटौडाको मेयर बन्न तयार रहेको बताए।

एमाले बागमती प्रदेश संगठन विभाग प्रमुख समेत रहेका पौडेलले हेटौंडामा विकास निर्माण, जनताका आवश्यकता र अपेक्षा पूरा गर्नका लागि पनि आफूले मेयरमा उम्मेदवारी दिने मनसाय बनाएको बताए। “पार्टीले टिकट दिएर न्याय गरेमा हेटौडाको मेयरको उम्मेदवार बन्न तयार छु,” पौडेलले भने, “मैले आफ्नो क्षेत्रमा हुने सामाजिक तथा भौतिक विकासमा योगदान गर्ने योजना बनाएको छु।”

 

यसमा तपाइको मत

Your email address will not be published.


*