हेटौंडामा बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

हेटौंडा खबर
२१ चैत्र २०७८, सोमबार १७:१५

शव्यापी रुपमा सुरु भएको टाइफाइड रोग विरुद्धको खोप लगाउने अभियान कार्यक्रम हेटौंडा ९ मा यहि चैत २५ गतेबाट सुरु हुने भएको छ । अभियान कार्यक्रमबाट वडाका करिब ३ हजार ३ सय बालबालिका लाभान्वित हुने अनुमान गरिएको लामसुरे शहरी स्वास्थ्य केन्द्र हेटौंडा ९ कि इन्चार्ज मीना कुमारीले बताइन् ।

वडा स्तरबाट नै संचालन हुने खोप अभियानको लागि सोमबार अभिमुखिकरण कार्यक्रम आयोजना भएको छ । स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, वडाका जनप्रतिनिधि, वडा भित्रका विद्यालयका प्रतिनिधि, युवा क्लब, बाल क्लब, टोल विकास संस्था, आमा समूह तथा महिला समुहका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा स्वास्थ्य केन्द्रकी इन्चार्ज मीना कुमारीले उक्त खोप १५ महिना देखि १५ वर्षसम्मका बच्चाहरुलाई टाइफाइडले धेरै असर गर्ने भएकाले उक्त उमेर समुहलाई लक्षित गरेर खोप अभियान सुरु गर्न लागिएको बताइन् ।

चैत ३० गतेसम्म ६ दिन संचालन हुने खोप अभियानमा वडामा भएका लक्षित उमेर समुहका कोहि पनि बालबालिकालाई नछुटाई खोप लगाउनका लागि सुरुवातमा विद्यालय पढ्ने बालबालिकालाई हरेक दिन विद्यालय मै गएर खोप लगाइने जनाइएको छ ।

पहिलो दिन प्रगती माविबाट सुरु हुने खोप अभियान २६ गते मोर्डन मावि, २७ गते कृष्ण आदर्श मावि, २८ गते दिव्य ज्योती प्रावि, २९ गते रस्सल एकेडेमी र त्रिवेणी आधारभूत विद्यालय र ३० गते विद्यालय नजाने तथा छुटेका बालबालिकाहरुलाई लामसुरे शहरी स्वास्थ्य केन्द्रमै खोप लगाइने इन्चार्ज मीना कुमारीले बताइन् ।

हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य लक्ष्मी नेपाली, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ९ का अध्यक्ष यदुवंश खतिवडा, लामसुरे शहरी स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका उपाध्यक्ष विनोद लामिछाने लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*