प्लाष्टिक झोला मुक्त गरिएपछि फेब्रिकका झोला उत्पादन गरिँदै

हेटौंडा खबर
२२ चैत्र २०७८, मंगलवार १२:३५

प्लाष्टिकको झोला मुक्त गरिएको इलाममा फेब्रिकका झोला उत्पादनका लागि उद्योग स्थापना गरिएको छ । रोङ गाउपालिका–३ कुटिडाँडास्थित माता पाथीभरा साना पर्यटन ब्यवसायी समूहले गाउँपालिकासँगको सहकार्यमा सो उद्योग स्थापना गरेको हो । इलाममा कालो पोलिथिनको झोला बोक्न नपाइने भएपछि  विकल्पमा फेब्रिक झोलाको प्रयोग बढ्न थालेकाले  यसका लागि उद्योग स्थापना गरिएको बताइएको छ ।

रु ४ लाख ४७ हजारको लागतमा उद्योग स्थापना गरिएकामा  उक्त समूहले रु दुई  लाख ४६ हजार र  गाउँपालिको रु दुई लाख एक हजार व्यहोरेको समूहका कोषाध्यक्ष किरण राउतले बताए । यस्ता  झोलाले वातावरण प्रदुषण नगर्ने र प्लास्टिकको झोला प्रयोगमा रोक लगाउने अभियानलाई सहयोग गर्ने उनको भनाइ थियो ।

उक्त समूहले यसअघि गाउँमै साना उद्योग स्थापना गरी अगरबत्ती उत्पादन गर्दै आएको छ । उत्पादित अगरबत्ती कुटिडाँडा, कोल्बुङ, हर्कटे तथा आसपासको क्षेत्रमा बिक्री हुँदै आएको अध्यक्ष राम खवासले बताए । पाथीभरा मन्दिर आसपासमा ब्यापार गर्ने ब्यपारी सङ्गठित भइ स्थापना गरिएको सो समूहले समूदायमा सचेतनामूलक  कामसमेत गर्दै आएको स्थानीय पत्रकार गणेश अर्यालले बताए ।

यसैगरी समूहले पाथीभरा मन्दिर सफा गर्नाका साथै  विपतमा  परेकाहरूलाई सहयोग समेत गर्दै आएको उपाध्यक्ष दिनेश निरौलाको भनाइ थियो  । उत्पादित  झोला ब्यावसायिक रूपमा बजारमा ल्याइने र यसबाट ब्यापारी तथा ब्यवसायीलाई समेत सहज हुने अनुमान गरिएको छ । सामान खरिद तथा बिक्रीका लागि यो झोलाको माग बढ्न थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*