श्रीलंकाका अर्थमन्त्रीले नियुक्त भएको २४ घण्टा नबित्दै दिए राजीनामा

हेटौंडा खबर
२२ चैत्र २०७८, मंगलवार १५:०३

श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली साब्रीले २४ घण्टा नबित्दै राजीनामा दिएका छन् । सोमबार एकै पटक २६ जना मन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षले ४ जना नयाँ मन्त्री नियुक्त गरेका थिए ।

यसअघि न्याय मन्त्रीको जिम्मेवारीमा रहेका साब्रीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको थियो । यसअघि आइतबार राष्ट्रपति गोटाभायाले आफ्नै भाइसमेत रहेका बासिल राजापाक्षलाई अर्थमन्त्रीबाट बर्खास्त गरेका थिए । आर्थिक संकटले श्रीलंकाली राजनीति तरंगित भइरहेका बेला सम्भावित राहत प्याकेजबारे छलफल गर्न बासिल अमेरिका जाने तयारीमा थिए । उनी अन्तर्राष्ट्रिय मुद्रा कोषसँग छलफलका लागि जाने तयारीमा थिए ।

चरम आर्थिक संकटसँगै खाद्यान्न, इन्धन तथा औषधि अभावका कारण सुरु भएको सरकारविरोधी प्रदर्शन चर्कंदै गएपछि श्रीलंकामा सबै मन्त्रीले राजीनामा दिएका थिए ।

श्रीलंकाले पछिल्लो समय स्वतन्त्रतायताकै सबैभन्दा ठूलो आर्थिक संकट सामना गरिरहेको छ । विदेशी मुद्राको अभावसँगै इन्धन आपूर्ति लगभग ठप्प भएको छ भने खाद्यान्न तथा औषधिको चरम अभाव देखिएको छ । दैनिक उपभोग्य वस्तुको भाउ अकासिएका कारण जनजीवन कष्टकर बन्दै गएको छ । त्यस्तै, पछिल्लो समय विद्युत् आपूर्तिमा समेत समस्या देखिएपछि जनतामा आक्रोश बढेको छ ।

कोरोनासँगै श्रीलंकाली अर्थतन्त्रको बलियो आधारका रूपमा रहेको पर्यटन उद्योग ठप्प छ । केही अर्थशास्त्रीले भने ठूलो मात्राको वैदेशिक ऋण र व्यवस्थापन कमजोरीका कारण अर्थतन्त्र धर्मराएको बताएका छन् । श्रीलंकाले सन् २०२० को मार्चमा विदेशी मुद्रा बचाउन भन्दै आयातमा प्रतिबन्ध लगाएको थियो, जसका कारण खाद्यान्न तथा औषधि अभाव भएको हो ।

विदेशी मुद्राका लागि मुख्यस्रोत रहेको पर्यटन क्षेत्र सन् २०१९ मा भएको आतंकवादी आक्रमण तथा कोरोना महामारीका कारण ठप्प हुँदा २ लाख ५० हजार जनाभन्दा बढीले रोजगारी गुमाएका छन् । त्यस्तै, चीनलगायत देशबाट ऋण लिएर सञ्चालन गरिएका विभिन्न परियोजना पनि महामारीकै कारण संकटमा परेका छन् । विदेशी मुद्रा सञ्चितिमा परेको दबाब घटाउन सरकारले गाडी र मल आयातमा रोक लगायो तर त्यसले चियालगायत अन्य उत्पादनमूलक क्षेत्रमा नकारात्मक प्रभाव पर्‍यो ।

पछिल्लो समय रुसले युक्रेनमाथि गरेको आक्रमणले श्रीलंकाको अर्थतन्त्र थप ब्रिगिएको हो । पर्यटन तथा उत्पादनमूलक क्षेत्र धराशायी भएपछि कतिपय परियोजना बनाउन लिएको ऋणको वार्षिक किस्ता तिर्न मुस्किल भयो । अर्थतन्त्र ओरालो लाग्दै गएपछि श्रीलंकाले अमेरिकी डलरसँग आफ्नो मुद्रालाई अवमूल्यन गर्‍यो । त्यही कारण आयातीत वस्तुको भाउ निकै महँगिएपछि सरकारविरोधी प्रदर्शनहरू सुरु भएका हुन् ।

प्रदर्शन चर्किएसँगै राष्ट्रपति राजापाक्षको लोकप्रियता घटेको छ भने सत्ता संकटमा पर्ने देखिएको छ । ‘राजनीतिक स्थायित्व र शासन सञ्चालनका सबल नेतृत्व’ को वाचासहित उनले सन् २०१९ को चुनावमा बहुमत ल्याएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*