आयल निगमलाई सरकारी कोषबाट ४ अर्ब २० करोड दिइने

हेटौंडा खबर
२३ चैत्र २०७८, बुधबार १३:४५

नेपाल आयल निगमलाई सरकार मातहतको मूल्य स्थिरीकरण कोषबाट ४ अर्ब २० करोड रुपैयाँ दिइने भएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)लाई रकम भुक्तानी गर्न नपुग्ने भएपछि सो रकम प्राप्त हुने भएको निगमले जनाएकाे छ।आगामी शुक्रबार आईओसीलाई निगमले इन्धनबापत १९ अर्ब ४७ करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । निगमसँग हाल १३ अर्ब रुपैयाँ मात्रै रहेको सहप्रवक्ता पुस्कर कार्कीले बताए । निगमले १५–१५ दिनमा आईओसीलाई रकम भुक्तानी गर्दै आएको छ ।

‘यस पटक आईओसीलाई भुक्तानी गर्न नपुग्ने भएपछि कोषबाट रकम लिनुपरेको हो’ उनले भने ।निगमले हाल मासिक नोक्सानी ९ अर्ब रुपैयाँ रहेको जनाएको छ । यस आर्थिक वर्ष हालसम्म निगमले ३३ अर्ब रुपैयाँ नोक्सानी ब्यहोरिसकेको जनाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले इन्धनको मूल्य बढाएको थियो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ तथा ग्यास प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएको थियो । मूल्य बढेपछि पेट्रोल प्रतिलिटर १६०, डिजेल र मट्टितेल १४३ तथा खाना पकाउने ग्यास प्रतिसिलिण्डर १६ सय रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*