मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूले आफ्नो पालिकाबाट उपचार खर्च पाउने

हेटौंडा खबर
२३ चैत्र २०७८, बुधबार १५:२७

मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई सरकारले दिने भनिएको उपचार खर्च व्यक्तिले आफ्नो पालिकाबाट पाउने भएका छन् । सरकारले गत चैत १३ गते मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च दिने निर्णय गरेको थियो ।

बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीले सरकारले स्वीकृत गरेको कार्यविधि अनुसार सो रोगका व्यक्तिहरूको लगत सम्बन्धित वडामा हुने र सम्बन्धित पालिकामार्फत नै व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था रहेको जानकारी दिए ।

उनले भने, ‘नेपाल सरकार मन्त्रिस्तरको निर्णयबाट चैत्र १३ गते मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरू, डायलाइसिस गराइराख्नु परेका व्यक्तिहरू, क्यान्सर समस्या भएका व्यक्तिहरू र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई मासिक रूपमा पाँच हजार रुपैयाँ उपचार खर्च बापत सरकारले उपलब्ध गराउने भनेर त्यसको कार्यविधि स्वीकृत भएको हो । यसको कार्यक्रम अगाडी नै नीति तथा कार्यक्रम आउँदा नै सरकारले कार्यक्रममै उल्लेख गरेर, समावेश गरेर सार्वजनिक गरेको विषय तर कार्यविधि नभएको अवस्थामा यसलाई कार्यान्वयनमा लैजान सकिएको थिएन ।

अब कार्यविधि स्वीकृत भएर आइसकेपछि हरेक स्थानीय तहहरूले यस किसिमका बिरामीहरूको लगतहरू सङ्कलन गर्नका लागि स्थानीय वडाहरूलाई परिचालन गर्ने र स्थानीय वडाहरूबाट यस्ता व्यक्तिहरूको लगतहरू सङ्कलन हुने अवस्था सिर्जना हुन्छ र त्यसरी लगत सिर्जित भइसकेपछि उहाँहरूको व्यक्तिगत खाता, उहाँहरूको सबै विवरणहरू तयार भइसकेपछि स्थानीय तहहरूले प्रत्येक तिन महिनामा उहाँहरूको खातामा पाँच हजारको दरले तिन महिनाको रकम उपलब्ध गराउनुहुन्छ,’ उनले थपे । त्यस बापतको रकम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई शोध भर्ना माग गरिने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अर्थ मन्त्रालयको समन्वयमा सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउने गरी यो कार्यविधिमा व्यवस्था गरिएको उनको भनाइ छ । यसमा पहिले पेन्सन पाइराखेका व्यक्तिहरूको हकमा यो रकम उपलब्ध हुने छैन ।

‘त्यसबाहेक अरू भत्ताहरू, ज्येष्ठ नागरिकको भत्ता, एकल महिलाको भत्ता पाउनु भएको छ भने त्यस्ता व्यक्तिहरूलाई यो कार्यविधिले कुनै बाधा पार्ने छैन,’ उनले भने, ’ उनले भने,’ उनले भने, ‘उहाँहरूले यो उपचार खर्च पाउनुहुन्छ । अरू किसिमका उपचारका लागि सरकारबाट पाएका सेवा, सुविधाहरु कुनै कटौती हुने छैनन् । ती सेवा सुविधाहरु उहाँहरूले निःशुल्क उपचार पाउने ठाउँमा निःशुल्क उपचार पाउनुहुन्छ । अरू सुविधाहरु पाउने ठाउँमा सुविधाहरु पाउनुहुनेछ । उपचार खर्चका लागि थप पाँच हजारका दरले मासिक रूपमा उपलब्ध गराउने गरी व्यवस्था गरिएको हो ।’
उनले स्वास्थ्य बीमाको सेवाग्राहीको रूपमा सूचीकृत भएकाहरूले पनि सो रकम पाउने बताए । सरकारले स्रोतको सुनिश्चितता गरिसकेकाले सेवाग्राहीले रकम निरन्तर पाउने पनि उनले उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*