पूर्वी युरोपका सात मुलुकमा श्रम स्वीकृति शर्तसहित खुला

हेटौंडा खबर
२३ चैत्र २०७८, बुधबार १५:३८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वी युरोपका सात मुलुकमा व्यक्तिगत श्रम स्वीकृतिमा जाने श्रम स्वीकृति शर्तसहित खुला गरेको छ ।

क्रोयसिया, अल्वानिया, पोल्याण्ड, स्लोभाकिया, हंगेरी, माल्दोभा र बेलारुसमा व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीहरू अलपत्र परेको सूचना प्राप्त भएको भन्दै मन्त्रालयले ती मुलुकमा वैदेशिक रोजगारीमा जाने श्रम स्वीकृति केही दिन अघिबाट स्थगन गरेको थियोे ।

मन्त्रालयले ती मुलुकमा रोजगारीमा जान रोकिएको श्रम स्वीकृति पुनः शुरु गरिएको बताउँदै व्यक्तिगत श्रम स्वीकृति लिई जाने प्रक्रियालाई व्यवस्थित गरिएको जनाएको छ ।

मन्त्रालयले आगामी २०७९ वैशाख १ गतेदेखि व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति लिने प्रक्रियासम्बन्धी निर्देशिका–२०६९ को दफा ३ मा उल्लेख भएअनुसार नेपाली राजदूतावास वा नियोगबाट प्रमाणीकरण भएका मागपत्रमा मात्र श्रम स्वीकृति दिने निर्णय भएको बताएको छ ।

मन्त्रालयले २०६९ साल भदौ ११ मा व्यक्तिगत श्रम स्वीकृतिसम्बन्धी निर्देशिका जारी गरेकोे थियो । व्यक्तिगत मागपत्र प्रमाणीकरणको प्रक्रिया अपनाउनुपर्ने राष्ट्रहरुको सूचीमा हाल साउदी अरेबिया, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।

मन्त्रालयले उक्त सूचीमा पूर्वी युरोपेली मुलुकहरू क्रोयसिया, अल्वानिया, पोल्याण्ड, स्लोभाकिया, हंगेरी, माल्दोभा र बेलारुसलाई समेत थप गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*