निगम ३३ अर्ब घाटामा, इन्धनको आयात कम गर्न सुझाव

हेटौंडा खबर
२४ चैत्र २०७८, बिहीबार १२:३७

इन्धनको कारोबार गदै आएको नेपाल आयल निगम चालू वर्षमा ३३ अर्ब नोक्सानमा गएको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दै गए पनि निगम घाटामा गएको हो । यस अघि लगातार ६ वर्ष नाफामा गएको निगम यो वर्षदेखि घाटामा जान थालेको हो ।

निगमका अनुसार अहिले पेट्रोलियम पदार्थको आयात मासिक २५ देखि ३० अर्ब रुपैयाँले हुन थालेको छ । लगातार मुल्य बढ्दै गए पनि सोहीअनुसार समायोजन नहुँदा घाटामा गएको निगमका भनाइ छ । घाटामा गएपछि तेल खरिद गरेबापत इन्डियन आयल कर्पाेरेसन(आईओसी)लाई रकम भुक्तानी गर्न समस्या परेको छ । यस अघि कमाएको नाफा रकम र मुल्य स्थिरीकरण कोषको रकमले रकम भुक्तानी गरिएको निगमको भनाइ छ ।
निगम प्रवक्ता बिनित मणि उपाध्याय चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ३३ अर्ब रुपैयाँ घाटामा गएको बताए । लगातार मूल्य बढ्दै गए पनि अहिले निगमलाई तेल खरिद गरेको रकमसमेत भुक्तानी गर्न कठिन परेको उनको भनाइ छ ।

गत वर्षकै परिमाणमा पेट्रोलियम आयात गरिए पनि मूल्यका कारण धेरै पैसा गइरहेको छ । यसले एकातिर विदेशी मुद्राको सञ्चिति घटाइरहेको छ भने आन्तरिक रूपमा निगमको घाटा फराकिलो हुँदै गएको छ ।

निगमले अहिले घाटा सहेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरिरहेको छ । ६ महिना अगाडि १९ अर्ब रुपैयाँ संचित मुनाफा र १४ अर्ब रुपैयाँ मूल्य स्थिरीकरण कोष रहेको निगम अहिले ३३ अर्ब रुपैयाँ घाटामा गइसकेको छ । निगमले इन्धनको फेरि मूल्यवृद्धि गरेको छ । निगमले फेरि पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँको दरले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढेको । यसअघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिन्डर १६ सय रुपैयाँ पुगेको छ ।

निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ । मंगलबार अर्थ मन्त्रालयमा भएको छलफलमा स्वचालित मूल्य बनाउने विषयमा छलफल भएको थियो । अब सञ्चालक समितिले निर्णय गरेर एक महिनाभित्रै स्वचालित बनाउने बताइएको छ ।
निगमका अनुसार गत मार्च महिनामा निगमले २९ अर्ब रुपैयाँको पेट्रोलियम खरिद गरेको थियो । यस्तै अघिल्लो फेब्रुअरी महिनामा २७ अर्बको तेल किनिएको थियो ।

निगमले हाल औसत २ लाख ७८ हजार किलोलिटर पेट्रोलियम खरिद गर्ने गरेको छ । गत साउनसम्म मासिक औसत १४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम खरिद हुने गरेकोमा परिमाण उही भए पनि मूल्य बढ्दा अहिले दोव्बर रकमको आयात भएको छ ।

यसैबीच, नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थको आयात आधाभन्दा बढीले घटाउन सरकारलाई सुझाव दिएको छ । इन्धन आयात बढ्दै गएपछि व्यापार घाटा बढ्दै जाने र नेपाली रकम विदेश जाने भएकाले आयात कम गर्न बैंकले सुझाव दिएको हो । अर्थतन्त्रको वर्तमान अवस्थाबारे गत १६ चैतमा अर्थ मन्त्रालयमा लिखित सुझाव पठाउँदै केन्द्रीय बैंकले यस्तो सुझाव दिएको हो । राष्ट्र बैंकले निगम अधिकारीहरूलाई डाकेर इन्धन आयात कटौतीको विकल्प के के हुन् भनेर सोधेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*