नेपालले नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश
नेपाल सरकारले बिहीवारदेखि गाभी खोप सञ्जाल, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र अन्य साझेदारहरूसँगको सहकार्यमा राष्ट्रिय नियमित खोप कार्यक्रम अन्तर्गत टाइफाइड खोपको शुरुवात गरेको छ ।
चैत्र २५, २०७८ देखि वैशाख १८, २०७९ सम्म आयोजना हुने यस राष्ट्रिय टाइफाइड खोप अभियानले १५ महिनादेखि १५ वर्षका बालबालिकालाई लक्षित गर्दै टाइफाइडबाट सुरक्षा हासिल गर्ने उद्देश्य लिएको छ । साथसाथै यस अभियानले बृद्धि भइरहेको एन्टिमाइक्रोबियल प्रतिरोधलाई पनि कम गर्न मद्दत गर्नेछ। देशभरिका ग्रामिण र शहरी क्षेत्रहरूमा ५०,००० भन्दा बढि विद्यालय केन्द्रित खोप केन्द्रहरूमा यो खोप लगाइनेछ । अभियान लगत्तै टाइफाइड खोप नियमित खोप कार्यक्रममा सामेल गरिनेछ जसले गर्दा १५ महिनाका बालबालिकाले नियमित यो खोप प्राप्त गर्नेछन्।
“नेपाल सरकारलाई यस कोषेढुङ्गा कदमका लागि बधाई छ; टाइफाइड खोपको शुरुवातले बर्षौं सम्म देशभरिका हजारौं बालबालिकाको जीवन रक्षा सुनिश्चित गर्नेछ र बृद्धि भइरहेको एन्टिमाइक्रोबियल प्रतिरोधलाई पनि कम गर्न मद्दत गर्नेछ। साथसाथै यस अभियानले जीवन बचाउने खोप र अरु स्वास्थ्य सेवाबाट बन्चित बालबालिकाको पहिचान पनि गर्नेछ ,” गाभी खोप सञ्जालका उपप्रमुख अनुराधा गुप्ताले बताउनुभयो ।
टाइफाइडबाट अधिक प्रभावित मुलुकहरुको सूचीमा नेपालको नाम पनि अग्रपंक्तिमा आउँछ । टाइफाइड खोपको देशब्यापी शुरुवातले गर्दा १५ वर्षमुनिका बालबालिकाले निःशुल्क रुपमा यो खोप प्राप्त गर्नेछन् ।
“बालबालिकाको स्वस्थ्य जीवनको शुरुवातको लागि खोप एक राम्रो लगानी हो। राष्ट्रब्यापी नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि सामेल गर्नाले हजारौं बालबालिकाको ज्यान बच्नेछ। कोभिड-१९ महामारीले स्वास्थ्य सेवामा ब्यापक रुपमा असर गरेको सन्दर्भमा टाइफाइड खोपको शुरुवात र नियमित खोप कार्यक्रमको सशक्तिकरण निकै समय सान्दर्भिक छ,” युनिसेफ नेपालका प्रतिनिधि एल्के विशले भन्नुभयो।
यस टाइफाइड खोप अभियानले १५ देखि २३ महिनाका बालबालिकाले अन्य खोप पनि पाए नपाएको निर्क्यौल गर्नेछ र सबै बालबालिका सबै प्रकारको खोप पाई सुरक्षित रहुन् भनि सुनिश्चित गर्न पनि मद्दत पुर्याउनेछ । सन् २०२० मा सफलतापूर्वक सञ्चालन गरिएको दादुरा रुबेला खोप अभियान झैँ यस अभियानले एउटा पनि खोप (जस्तै भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार विरुद्धको डिपीटी खोप) नपाएका बालबालिकाको पहिचान गर्नमा मद्दत गर्नेछ । कुनै पनि खोप नपाएका बालबालिकाले विविध किसिमको अभावहरू झेल्नु पर्ने हुन्छन् भने यस्तो अवस्था आउनु आफैमा समाजमा जकडिएर रहेको असमानताको सूचक हो ।
शिक्षा मन्त्रालयसँगको समन्वयमा विद्यालय नजाने बालबालिकाको पहिचान गरिनेछ भने स्थानीय प्रशासन र सामुदायिक स्वास्थ्यकर्मीहरूको सहयोगमा उनीहरूको हेरचाह गर्ने व्यक्तिहरूलाई यस खोपको महत्वका बारेमा सचेत गराई खोप केन्द्रहरूको बारेमा जानकारी समेत दिइनेछ । टाइफाइड रोग बाट बच्नका लागि सरसफाइको महत्वको बारेमा पनि यस अभियान मार्फत सचेतनाका कार्यक्रमहरु सञ्चानल गरिनेछ ।
“टाइफाइड कन्जुगेट खोप निकै प्रभावकारी छ र नेपालमा बालबालिकामा टाइफाइडले पार्ने नकारात्मक प्रभाव कम गर्न यस खोपले धेरै मद्दत पुर्याउने छ । साथै यस खोपले बढ्दै गइरहेको औषधी प्रतिरोधी टाइफाइड जीवाणुको विश्वब्यापी स्वास्थ्य समस्याको न्यूनिकरणमा सहयोग गर्नेछ । खोप कार्यक्रमहरूको साथै नेपालले एन्टिमाइक्रोबियल प्रतिरोधको निगरानीलाई सशक्त बनाउने र सरसफाई, स्वच्छ तथा सफा पिउने पानीको पहुँचमा सुधार गर्नुपर्छ,” विश्व स्वास्थ्य सङ्गठन नेपाल स्थित कार्यालयका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डवले भन्नुभयो।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत टाइफाइड खोपका निम्ति गाभीको सहयोग प्राप्त गर्न सफल नेपाल चौथो मुलुक हो । यस अघि पाकिस्तान, लाइबेरिया र जिम्बावेले गाभी र यसका साझेदार संस्थाहरूको सहयोग प्राप्त गरिसकेका छन् ।
टाइफाइड खोप कार्यक्रमका साथसाथै स्वास्थ्य शिक्षा, पानी र सरसफाईमा सुधार र स्वास्थ्यकर्मीहरूका लागि रोगको पहिचान र उपचार सम्बन्धी प्रशिक्षणमा पनि ध्यान दिन जरुरी छ।
ग्लोबल बर्डन अफ डिसिजेज अनालिसिस (Global Burden of Disease Analysis) २०१९ का अनुसार नेपालमा कम्तिमा ८२ हजार ४ सय ४९ टाइफाइडका बिरामीहरु रहेको अनुमान गरेको छ, जसमध्ये ६० प्रतिशत १५ वर्ष भन्दा कम उमेर समूहका बालबालिका रहेका छन् । सोही अध्ययनमा ९१९ जनाको मृत्यु भएको आँकलन गरिएको छ ।