दुई वर्षको म्याद तर साढे ६ वर्ष बित्दा नि बनेन वीरगंज-पथलैया व्यापारिक मार्ग

हेटौंडा खबर
२५ चैत्र २०७८, शुक्रबार १२:१२

 वीरगंज-पथलैया औद्योगिक कोरिडोरको एउटा महत्वपूर्ण र बहुप्रतिक्षित योजनामध्येको योजना हो, व्यापारिक मार्ग विस्तार आयोजना।

तर ठेकेदारको लापरवाहीले उक्त योजना निक्कै नै सुस्त देखिएको छ। यो सडकमार्गमा अहिले पनि धुलाम्मे यात्रा गर्न सर्वसाधारण बाध्य छन्। दुई वर्षमा सम्पन्न हुनु पर्ने योजना साढे ६ वर्षमा पनि सम्पन्न हुन नसक्दा यस भेगको जनताहरूको जनजीवन प्रभावित भएको छ।

२०७३ असार २९ गतेदेखि सुरू भएको योजना दुई वर्ष भित्रमा सम्पन्न गर्नु पर्ने शर्त थियो। तर ठेकेदारहरूले भूकम्प, साइट खाली गराउन समस्या, निर्माण सामग्रीको अभाव, दुई वर्षको कोरोना महामारीलगायतको कारण देखाउँदै म्याद माथि म्याद थप्दै आयोजना लम्ब्याएका हुन्।

अहिले व्यापारिक मार्गका सडक, पुल, कल्भर्टलगायत निर्माणमा ठेकेदार कम्पनीहरूले फेरी म्याद थप गर्नको लागि आयोजना कार्यालय पथलैयामा निवेदन दिएको आयोजना प्रमुख मनिषकुमार साहले बताए। ठेकेदारहरू मार्फत् म्याद थपको लागि निवेदन आए पनि आफूले चैत मसान्त भित्र नै जसरी पनि काम सम्पन्न गर्न निर्देशन दिएको उनले बताए। चैत भित्र काम सम्पन्न नगर्ने ठेकेदारलाई नियमानुसार क्षतिपूर्ति तिर्नु पर्ने आफूले अडान राखेको उनले बताए।

आयोजनाको ८० प्रतिशत वित्तीय प्रगति र ८३. ७० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए। फागुन ३० गतेसम्म प्रगति अनुसार अहिले लगभग १६ प्रतिशत काम गर्न बाँकी रहेको छ। मुख्य गरि सूर्य नेपालदेखि जीतपुरबजार हुँदै नेपाली सेनाको ब्यारेकसम्म, परवानीपुर चोकदेखि जगरनाथपुर गण्डकसम्म, हरपतगंजदेखि ड्राइपोर्टसम्म,परवानीपुर–गण्डक सडकखण्डमा तथा श्रीसिया खोलामा निर्माण भइरहेको दुईवटा पुल र जीतपुरको लालका पुल, नाला, बत्ती लगायतको काम अहिले पनि अधुरो छ।

पथलैया, परवानीपुर, ड्राइपोर्ट, आइसीपिसम्म तथा परवानीपुर-गण्डक गरि दुईवटा रूटमा आठवटा सडकको ठेक्का लगाइएको छ भने तीनवटा पुलको ठेक्का लगाइएको छ। त्यसैगरि गण्डक नहरमा दुईवटा कल्भर्टको समेत ठेक्का लगाइएको छ। परवानीपुरदेखि गण्डक नहर जगरनाथपुरसम्म ठेक्का लिएको एएमआर-पप्पु कानटेकले ठेक्का लिए पनि जम्मा ६५ प्रतिशत काम गरेको छ। त्यसैगरि जगरनाथपुर गण्डक नहरदेखि हरपतगंजसम्म श्रेष्ठ-बिरूवा एपेक्स जेभीले ठेक्का लिएकोमा ८३ प्रतिशत काम गरेको छ।

यस्तै हरपतगंज चोकदेखि ड्राइपोर्टसम्म पप्पु-लुम्बिनी जेभीले ठेक्का लिएकोमा जम्मा ७१ प्रतिशत, पथलैया चोकदेखि सूर्य टोबाकोसम्म एएमआर-कानटेक जेभीले ठेक्का लिएकोमा ९५ प्रतिशत, सूर्य टोबाकोदेखि गढीमाई आर्मी ब्यारेकसम्म शर्मा-युनाइटेड बिल्डर्स-दिवानिर्माण सेवाले ७० प्रतिशत र आर्मी ब्यारेकदेखि परवानीपुर चोकसम्म एएमआर-कानटेक जेभीले ८८ प्रतिशत काम गरेका छन्। त्यसैगरी परवानीपुरदेखि गण्डक चोकसम्म चारलेन बाटो बनाउने ठेक्का दिवा-सपना-जेभीले लिएको छ। तर ८९ प्रतिशतमात्र काम गरेको देखिएको छ।

त्यसैगरि जीतपुरको लालका पुलको ठेका इलाइट–एसबिए जेभीले लिएकोमा काम लगभग पुरा भएको छ। पुलको काम ९८ प्रतिशत भएको देखिएको छ। परवानीपुर चोकमा निर्माण भएको पुलको ठेक्का लुम्बिनी-मृत संजीवनिले लिएकोमा जम्मा ८८ प्रतिशत पूरा भएको छ। त्यसैगरी लालपर्सामा निर्माण भएको श्रीसिया पुलको काममा लुम्बिनी-मृत संजीवनिलेनै फागुन मसान्तसम्म ८५ प्रतिशत काम गरेको छ। पथलैया चोकदेखि परवानीपुर हुँदै ड्राइपोर्टसम्म ड्रेन कभर र स्ट्रीटलाइटको ठेक्का कानटेक लुम्बिनी जेभीले लिएकोमा जम्मा ८० प्रतिशत काम सम्पन्न भएको छ। ड्राइपोर्टदेखि आइसीपि चोकसम्म ६ सय मिटर लम्बाईको सडकमा रमन–महावीर जेभीले ९९ प्रतिशत काम गरेको छ। त्यसैगरी जगरनाथपुर र गण्डक बहुअरीमा निर्माण भएको दुइृवटा कल्भर्टको ठेक्का एम-एस सपना निर्माण सेवाले लिएकोमा जम्मा ७५ प्रतिशत काम भएको छ।

१३ वटा ठेक्कामा पाँच अर्ब ५७ करोड ९३ लाख ६९ हजार ९१८ रूपैयाँको ठेक्का लगाइएकोमा गत फागुन मसान्तसम्म चार अर्ब ३८ करोड २८ लाख ७० हजार रूपियाँ भुक्तानी भइसकेको आयोजना कार्यालयका प्रमुख साहले बताए। लामो समयदेखि आयोजना अल्पत्र हुँदा वीरगंजबाट पूर्वी नेपाल हेटौंडा तर्फ प्रस्थान गर्ने यात्रुहरूलाई समस्या भोग्नु परेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*