हेटौंडाको मेयर र उपमेयरका उम्मेदवार छान्न एमालेको बैठक चल्दै

हेटौंडा खबर
२७ चैत्र २०७८, आईतवार १२:४०

हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार छान्न नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटीको बैठक आज बसिरहेको छ ।

बैठकले आसन्न निर्वाचनका लागि एमालेबाट हेटौँडा उपमहानगरको मेयर र उपमेयर पदका उम्मेदवार टुङ्ग्याउने जनाइएको छ । हेटौँडाको मेयर र उपमेयर पदका उम्मेदवार सर्वसम्मतिबाट टुङ्ग्याउने गरि बैठक बसिरहेको एक नेताले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिकामा मेयर पदका लागि एमालेभित्र ७ जना आकाङ्क्षी छन् । एमालेबाट पूर्व संविधानसभा सदस्यदेखि जिल्ला सचिवालय समितिका सदस्य गरी सात जनाले मेयरमा आकांक्षा व्यक्त गरेका छन् ।

२०७० सालमा निर्वाचित संविधानसभाका सदस्य अनन्त पौडेलदेखि एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्यहरू मदनकुमार दाहाल र ध्रुव प्रसाद चौलागाई, बहालवाला मेयर हरिबहादुर महत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना र एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पनि मेयरमा आकांक्षा देखाएका छन् ।

पछिल्लो समय मकवानपुरको राजनीतिमा संविधानसभा सदस्य पौडेल र बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले एमालेका लागि अभिभावकीय र निर्णायक भूमिका खेल्दै आएका छन् । मेयर पदका उम्मेदवार चयनमा पनि उनीहरूको भूमिका निर्णायक हुने बताइएको छ ।

संविधानसभा सदस्य पौडेलले मेयर पदमा आकांक्षा व्यक्त गरेपछि उम्मेदवार छनौटमा समस्या देखिएको एमाले नेताहरू बताउँछन् ।जिसस मकवानपुरका प्रमुख खुलाल पूर्वमुख्यमन्त्री पौडेलको पहिलो रोजाईका पात्र हुन् । पूर्वमुख्यमन्त्री पौडेल निकटकै केन्द्रीय सदस्य रानाले पनि मेयर बन्ने आकांक्षा देखाएपछि भने एमालेभित्र समस्या देखिएको छ ।यता अघिल्लो निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई हराउँदै हेटौँडाको मेयर बनेका महत आफ्ना अधुरा काम पुरा गर्न भन्दै थप एक कार्यकाल आफूलाई अवसर दिनुपर्ने तर्क गर्दै आएका छन् ।

५ जनाको उपमेयर बन्ने इच्छा

हेटौँडाको उपमेयर पदका लागि एमालेबाट पाँच जनाले उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन् । उपमेयर पदका लागि अनेम संघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्ले, सीता विष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, मेनुका दाहाल लगायतकाले इच्छा व्यक्त गरेका छन् ।

मेयर र उपमेयर पदका उम्मेदवारहरु आ–आफ्नो दाबी कसेर बसेकाले सहमति हुन सक्ने अवस्था नरहेपछि शनिबार बसेको उपमहानगरपालिका कमिटीको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको थियो । उम्मेदवार बन्न आकांक्षा व्यक्त गर्नेहरू एक–अर्कालाई सहयोग गरेर जाने अवस्था अझै नबनेकाले उम्मेदवार छनौट पनि निर्वाचन प्रक्रियाबाट गर्नुपर्ने अवस्था आएको नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटीका नेता बताउँछन् । एक अर्कालाई सहयोग गर्ने अवस्था नबनेको खण्डमा निर्वाचन प्रक्रियाबाट उम्मेदवार छनौट गरेर जिल्ला कमिटीमा सिफारिस गर्ने तयारी रहेको उनले बताए

यसमा तपाइको मत

Your email address will not be published.


*