हेटौंडाको मेयर, उपमेयरको उम्मेदवार छान्न एमालेलाई सकस, जुटेन सहमति

हेटौंडा खबर
२७ चैत्र २०७८, आईतवार १७:३१

हेटौंडाको मेयर, उपमेयरको उम्मेदवार छान्न एमालेलाई सकस भएको छ ।

आज बसेको हेटौंडा नगर कमिटिको बैठकमा सहमति जुट्न नसकेपछि हेटौंडा उपमहानगरपालिकामा प्रमुख,उपप्रमुख कसलाई उठाउने भन्नेबारे टुंगो लाग्न नसकेको हो ।

सहमति जुट्न नसकेपछि आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले मेयर र उपमेयर पदका लागि १६ जनाको नाम संकलन गरिएको छ । मेयरमा ९ जना र उपमेयरमा ७ जनाको नाम संकलन भएको छ ।

आज दिनभरीमा सहमति जुटाएर सर्वसम्मत १ जनाको नाम सिफारिस गर्ने भनिएपनि सहमति जुट्न सकेन । आज संकलन गरिएका नाम मध्येबाटै एक एक जनाको नाम सिफारिस गरिने एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।

बैठकले मेयरका लागि एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, पुर्व संविधानसभा सदस्य अनन्त पौडेल, जिसस अध्यक्ष समेत रहेका रघुनाथ खुलाल, मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन, अहिलेका मेयर बहिबोल महत, रामेश्वर राना र गणेशकुमारी प्रधानको नाम संकलन गरि राखेको छ ।

त्यस्तै उपमेयरका लागि सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता बिष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपालको नाम संकलन भएको छ । अर्को बैठक मंगलबार सहमति जुट्ने गरि बस्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*