हेटौंडामा राप्रपाको आमसभामा बालबालिकाको प्रयोग

हेटौंडा खबर
२७ चैत्र २०७८, आईतवार २१:४३

हेटौंडामा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीले शक्ति प्रदर्शन गर्यो । चुनावी अभियानमा देश दौडाहामा लागेको राप्रपाले आज हेटौंडाको हुप्र चौरमा चुनाव लक्षित आमसभा गर्यो ।

कार्यक्रममा अभिनेत्रीसमेत रहेकी पार्टीकि केन्द्रीय सदस्य रेखा थापा, केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गरेका थिए ।

राप्रपाको यो आमसभामा १८ वर्ष भन्दा साना उमेरमा बालबालिकाको प्रयोग गरिएको पाइएको छ । आमसभामा साना बालबालिकाले पार्टीको झण्डा बोकेर उपस्थित भएको भेटिएको छ ।

कुनै पनि बालबालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग गर्नु कानुन विपरित हो। निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद २ मा सबैले पालना गर्नुपर्ने आचारणमा, १८ वर्ष उमेर पुरा नभएका बालबालिकालाई निर्वाचन प्रसार प्रसारमा प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ ।

आचारसंहिताको परिच्छेद २ को ‘ग’ अनुसार ‘कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा सामुदायिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने’ व्यवस्था छ भने परिच्छेद ४ को ‘ट’ ले राजनीतिक दल, उम्मेदवार वा दलका भातृ सङ्गठनले १८ वर्ष पूरा नभएका बालबालिकालाई चुनावी प्रचारप्रसार, धर्ना, जुलुस, आमसभामा प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । त्यही आचारसंहिताको परिच्छेद २ को ‘छ’ अनुसार १८ वर्ष पूरा नभएका बालबालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ ।

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ को उप दफा २ मा राजनीतिक प्रयोजनका लागि बालबालिकालाई संगठित गर्ने वा हड्ताल, वन्द, चक्काजाम, धर्ना, र जुलुसमा प्रयोग गर्न नहुने भनी यसलाई बालबालिका विरुद्ध कसुरको रुपमा व्यवस्था गरिएको छ । यदि कोही कसैले त्यस्तो गरिहालेमा दफा ७२ मा ७५ हजार रुपियाँसम्म जरिबाना र तीन वर्ष कैदको व्यवस्था गरिएको छ ।

चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु बालबालिका विरुद्धको कसुर मानिएपनि आइतबार को राप्रपाको कार्यक्रममा बालबालिकाको प्रयोग गरिएको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*