चुनाव रोक्नुपर्ने विप्लवको मागप्रति देव गुरुङ लचिलो

हेटौंडा खबर
२८ चैत्र २०७८, सोमबार १५:०९

आगामी बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा आफ्नो दललाई पनि अवसर दिनुपर्ने नेकपा विप्लव समूहको आग्रहप्रति माओवादी केन्द्रका नेता देव गुरुङले सकारात्मक टिप्पणी गरेका छन् । उनले विप्लवले चुनावमा भाग लिने हो भने निर्वाचन रोक्नुपर्ने आशय व्यक्त गरेपछि निर्वाचन सर्ने आकलन गरेकालाई बल पुगेको छ ।

निर्वाचन सार्ने रणनीति सबै गठबन्धनमा आवध्द दलहरुको डिजाइन भएको विपक्षी एमालेको आरोप छ । उसले गठबन्धनलाई चुनावमा जान अझै धरमर भएकाले नयाँ फण्डा निकालेको बताएको हो ।

एमाले स्रोतअनुसार स्थानीय पालिकाको नेतृत्व लिनेमा गठबन्धनभित्र महत्वाकांक्षीहरु धेरै देखिएकाले त्यसको व्यवस्थापन सबैभन्दा ठूलो चुनौती बनेको छ । उम्मेदवार मनोनयन गर्न १५ दिन बाँकी छँदा पालिकामा कसको नेतृत्व हुने भन्ने विषयको अन्यौलले त्यहिँभित्र कुटाकुट हुने एमालेको विश्लेषण छ ।

एमालेमा भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसलाई तोक्यो उसैलाई टिकट दिने परिपाटी भएकाले गठबन्धनमा झैँ मारामार नहुने स्पष्ट छ । त्यसैले गठबन्धन दलहरुबाट टिकट नपाएर बिच्किने राम्रा उम्मेदवारलाई एमालेले ‘क्यास’ गर्ने तयारी भएको स्रोतको दाबी छ ।

उता लुम्बिनी प्रदेशमा एमाले अझै पनि पहिलो नम्बरमा रहेको एउटा सर्वेक्षणबाट देखिएको छ । त्यहाँका ५३ वटा नगरपालिकामा अझै पनि एमाले अगाडि,३९ मा काँग्रेस र १७ स्थानमा माओवादी पहिलो हुने अनुमान छ ।

गठबन्धन भएमा चाहिँ एमालेले सोझै हार्ने अवस्था छ । पाल्पामा सोमप्रसाद पाण्डेको प्रभावका कारण नेकपा एकीकृत समाजवादीको बर्चस्व रहेको अन्य पार्टीको बुझाइ छ । हालै सम्पन्न लुम्बिनी प्रदेशस्तरीय गठबन्धन बैठकमा नेकपा एकीकृत समाजवादी अनुपस्थित हुनुलाई धेरैले शंकाको दृष्टिकोणले हेरेका थिए ।

अर्कोतर्फ लुम्बिनी प्रदेशमा माओवादी र एमाले मिलेर जानुपर्ने भन्दै भित्रभित्रै कुरो भइरहेको दाबी गर्नेहरु पनि देखिएका छन् । उक्त पहल एमालेकै स्थानीय नेताहरुबाट भएकाले एमाले अध्यक्ष ओलीको ‘संकेत’ कुरिएको उनीहरुले बताएका छन् ।

अर्कोतर्फ मुलुकको आर्थिक अवस्था श्रीलंकाको जस्तै हुन लागेको विषयलाई अहिले विपक्षी एमालेले गाउँ गाउँसम्म पुर्याएको छ । अर्कोतर्फ आयल निगमले पेट्रोलियम पदार्थको भुक्तानी गर्न धौ धौ परेको अवस्थालाई देखाउँदै सरकारले वित्तीय संकट लगाउन सक्ने एमालेको आशंका छ । त्यस्तो अवस्थामा चुनाव पर सार्ने खेल हुनसक्ने उसको बुझाइ हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*